ओपन एआईले प्रम्प्ट दिएकै आधारमा भिडियो बनाइने टुल सोरालाई च्याटजीपीटीसँग एकीकृत गर्ने भएको छ । अहिले छुट्टै वेबसाइटमार्फत सोरा उपलब्ध रहेको छ ।
सोरा गत डिसेम्बरमा सुरू गरिएको थियो । यसले प्रयोगकर्ताहरूलाई २० सेकेन्डसम्मको सिनेमाटिक भिडियो क्लिपहरू बनाउन दिन्छ ।
तर, ओपन एआईका सोरा उत्पादन प्रमुख, रोहन सहाईका अनुसार, कम्पनी सोरालाई थप स्थानहरूमा उपलब्ध गराउने योजनामा रहेको बताएका छन् ।
ओपन एआईले सुरूमा सोरालाई क्रिएटिभहरू र भिडियो उत्पादन स्टुडियोहरूका लागि लक्षित गरेको थियो । तर, अहिले कम्पनीले यस एआई भिडियो निर्माण उपकरणलाई अझ विस्तारित दर्शकमाझ पुर्याउने प्रयास गरिरहेको छ ।
सहाईका अनुसार ओपन एआई, सोरालाई च्याटजीपीटी भित्रै ल्याउन काम गरिरहेको छ । यद्यपि, उनले समयसीमा भने खुलाएका छैनन् ।
उनको सङ्केत अनुसार, सोराका सबै सुविधा च्याटजीपीटी भित्र उपलब्ध नहुन सक्छन् । ओपन एआईले सोरालाई च्याटजीपीटीमा ल्याएर प्रयोगकर्ताहरूलाई आकर्षित गर्ने सोच राखेको हुन सक्ने अनुमान गरिएको छ ।
साथै, ओपन एआईले सोराको लागि एक अलग मोबाइल एप निर्माण गर्ने इच्छा राखेको छ । यस बाहेक सोराको जेनेरेसन क्षमतालाई फोटोमा समेत विस्तार गर्ने योजना बनाइएको छ । हाल च्याटजीपीटीले फोटो उत्पादनको लागि ओपन एआईको ड्याली ई ३ मोडेल प्रयोग गरिरहेको छ ।