काठमाडौं । अहिलेसम्म आम रूपमा के मानिँदै आएको थियो भने, एआई जति नै स्मार्ट बनेपनि अन्ततः यो मानवको नियन्त्रणमै रहनेछ । अर्थात्, यसले मानिसले दिएको आदेशअनुसार मात्रै काम गर्नेछ । तर हालै सार्वजनिक भएको एउटा घटनाले विज्ञान कथाजस्तै लाग्ने अवस्था सिर्जना गरेको छ ।
डिजिटल सुरक्षाका कमजोरी पत्ता लगाउन प्रशिक्षण दिइएको एउटा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रणाली मानवको नियन्त्रणभन्दा बाहिर गएर आफैंले एउटा कम्पनीलाई ह्याक गरेको दाबी गरिएको छ ।
चोरिएका लगइन
यो साइबर आक्रमण ओपनएआईको एउटा एआई मोडलसँग सम्बन्धित रहेको बताइएको छ । कम्पनीले यस घटनाका लागि नियन्त्रणबाहिर गएको एआई मोडललाई जिम्मेवार ठहर गरेको छ ।
यस घटनाले एआई प्रविधिको क्षमता कति तीव्र गतिमा बढिरहेको छ र गलत रूपमा प्रयोग भएमा यसले कति ठूलो जोखिम निम्त्याउन सक्छ भन्ने प्रश्न उठाएको छ । ओपनएआईले यसलाई अप्रत्याशित घटना भनेको छ ।
कम्पनीका अनुसार, आफ्नो उन्नत एआई मोडलले एउटा एआई स्टार्टअपको सर्भर मा प्रवेश गर्न चोरी गरिएका लगइन पासवर्ड प्रयोग गरेको थियो । यस घटनापछि अनुसन्धानकर्ताहरूले एआई प्रविधिको बढ्दो क्षमतामाथि गम्भीर प्रश्न उठाउने अवसर पाएका छन् ।
विज्ञहरूले व्यक्त गरे चिन्ता
अनुसन्धानकर्ताहरूले यसअघि नै एआईको विकासलाई केही समयका लागि सुस्त बनाउनुपर्ने माग गर्दै आएका छन् । उनीहरूले वर्षौंअघि नै चेतावनी दिएका थिए कि यो प्रविधि भविष्यमा मानव अस्तित्वकै लागि खतरा बन्न सक्छ ।
यो घटना सार्वजनिक भएपछि विज्ञहरूले एआई कम्पनीहरूले गर्ने सुरक्षा परीक्षणलाई अझ कडा बनाउनु पर्ने र साझा समाधानका लागि अमेरिका र चीनबीच सहकार्य आवश्यक रहेको बताएका छन् ।
‘इफ एनीवन बिल्ड्स इट, एभरीवन डाइज’ पुस्तकका सहलेखक नेट सोरेसले यस घटनालाई गम्भीर चेतावनीका रूपमा लिनुपर्ने बताएका छन् । उनका अनुसार, एआईलाई अझ धेरै शक्तिशाली बनाउनु अघि विश्वका सबै देशले मिलेर यसको सुरक्षित विकासका लागि काम गर्नुपर्छ ।
एआई कम्पनीमाथि बढ्नेछ दबाब
ओपनएआईले एआईलाई साइबर सुरक्षाको क्षमता परीक्षण गर्ने जिम्मेवारी मात्रै दिएको जनाएको छ । तर एआई त्यस सीमाभन्दा धेरै अगाडि बढ्यो । आफ्नो काम पूरा गर्न आवश्यक जानकारी जुटाउने क्रममा उसले आफ्नै निर्णयमा हगिङ फेस नामक चर्चित एआई प्लेटफर्मलाई लक्ष्य बनाएको कम्पनीले जनाएको छ ।
यद्यपि, त्यस समयमा सुरक्षा उपायहरू केही कमजोर रहेको पनि कम्पनीको भनाइ छ । आई जेनेटिक एआई कम्पनीकी सिइओ जहरा तिमसाहका अनुसार, यस घटनापछि ओपनएआई लगायत अन्य एआई कम्पनीहरूमाथि आफ्नो प्रविधि सर्वसाधारणसम्म पुर्याउनुअघि पर्याप्त सुरक्षा परीक्षण गर्नुपर्ने दबाब बढ्नेछ ।
उनले एआईले गल्ती गरिसकेपछि मात्रै परीक्षण गर्नुको कुनै अर्थ नहुने बताएकी छन् । हालै अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले एउटा कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन्, जसअनुसार सरकारले कुनै पनि एआई प्रणाली सर्वसाधारणका लागि सार्वजनिक गर्नुअघि एक महिनासम्म त्यसको सुरक्षा परीक्षण गर्न सक्ने अधिकार पाएको छ ।
आत्तिनु आवश्यक नरहेको केही विज्ञको भनाइ
यद्यपि, केही विज्ञहरूको मत भने फरक छ । उनीहरूका अनुसार यस्तो ह्याकिङ घटना नयाँ प्रविधिलाई अझ सुरक्षित र सक्षम बनाउने प्रक्रियाकै हिस्सा हो, त्यसैले यसबाट अत्यधिक डराउन आवश्यक छैन ।
कार्नेल युनिभर्सिटीका प्राध्यापक जान थिक्सटनले भने, “इन्टरनेटको सुरुवातदेखि नै साइबर आक्रमण भइरहेका छन् । भाषा सिक्ने यी एआई मोडलहरूको सकारात्मक पक्ष भनेको, जुन प्रविधिले आक्रमण गर्न सहयोग गर्छ, त्यही प्रविधिले त्यस्ता आक्रमण रोक्न र साइबर सुरक्षा अझ मजबुत बनाउन पनि मद्दत गर्छ ।”
आईसीटी समाचार