कीवर्डहरू -

ओपनएआईको गम्भीर खुलासा: हरेक हप्ता करिब १० लाखले च्याटजीपीटीमा गर्छन् आत्महत्या र मानसिक स्वास्थ्यका कुरा

ओपनएआईको गम्भीर खुलासा: हरेक हप्ता करिब १० लाखले च्याटजीपीटीमा गर्छन् आत्महत्या र मानसिक स्वास्थ्यका कुरा

ओपनएआईले आफ्नो नयाँ रिपोर्टमा एउटा गम्भीर र चकित पार्ने खुलासा गरेको छ। कम्पनीका अनुसार हरेक हप्ता करिब १० लाखभन्दा बढी मानिसहरू च्याटजीपीटीलाई आत्महत्या र अन्य मानसिक स्वास्थ्य सम्बन्धी कुराहरू छलफल गर्न प्रयोग गरिरहेका छन्। यो आँकडाले देखाउँछ कि आर्टिफिसियल इन्टेलिजेन्स अब केवल जानकारी दिने माध्यम मात्र होइन, मानसिक समस्यामा परेका व्यक्तिहरूका लागि भावनात्मक सहारा बन्न थालेको छ।

ओपन एआईका अनुसार च्याटजीपीटीका करिब ८० करोड साप्ताहिक प्रयोगकर्तामध्ये ०.१५ प्रतिशत यस्ता छन् जसले संवादका क्रममा आत्महत्या गर्ने योजना वा इच्छा व्यक्त गर्छन्। त्यस्तै अनुपातका प्रयोगकर्ताहरूले च्याटबटप्रतिको भावनात्मक आसक्ति देखाएका छन् भने केहीमा साइकोसिस वा मेनिया जस्ता मानसिक लक्षणहरूको संकेत पनि देखिएको कम्पनीले जनाएको छ।

१७० भन्दा बढी मानसिक स्वास्थ्य विशेषज्ञहरूसँग मिलेर च्याटजीपीटीलाई संवेदनशील अवस्थाहरूका लागि सुधार गरिरहेको ओपनएआईको भनाइ छ। कम्पनीका अनुसार यसको नवीनतम मोडल जीपीटी-५ अब ९१ प्रतिशत मामिलाहरूमा सही र संवेदनशील प्रतिक्रिया दिन सक्षम छ, जबकि पहिले यो दर ७७ प्रतिशत थियो।

यो रिपोर्ट त्यतिबेला सार्वजनिक भएको हो, जब विश्वभरि एआई र मानसिक स्वास्थ्य सम्बन्धी छलफल तीव्र छन्।  कहिलेकाहीँ च्याटबटहरूले प्रयोगकर्ताका अलमलिएका विचारहरूलाई अझ गहिरो बनाउन सक्छन् र यसले व्यक्तिको मानसिक स्थिति बिग्रिन सक्छ अनुसन्धानकर्ताहरूले चेतावनी दिएका छन् ।

ओपनएआईमा यस विषयलाई लिएर एउटा मुद्दा पनि चलिरहेको छ। दाबी अनुसार एक १६ वर्षका प्रयोगकर्ताले आत्महत्या गर्नुअघि आफ्नो आत्मघाती विचार च्याटजीपीटीसँग साझा गरेका थिए। त्यसपछि क्यालिफोर्निया र डेलावेयरका अटर्नी जनरलहरूले कम्पनीलाई नाबालिग प्रयोगकर्ताहरूका लागि सुरक्षा उपायहरू कडा गर्न निर्देशन दिएका थिए।

हाल ओपनएआईले एक एज–डिटेक्शन सिस्टम विकास गरिरहेको छ, जसले प्रयोगकर्ताको उमेर नाबालिग हो कि होइन भनेर पहिचान गर्न सक्नेछ। साथै कम्पनीले भावनात्मक निर्भरता र गैर–आत्महत्यासम्बन्धी मामिलाहरूको निगरानीका लागि नयाँ बेंचमार्कहरू पनि समावेश गरेको बताएको छ।