कीवर्डहरू -

ओपनएआईको नयाँ ‘ड्रिमिङ’ मेमोरी सिस्टम, च्याटजीपीटीलाई अझ बनायो स्मार्ट

ओपनएआईको नयाँ ‘ड्रिमिङ’ मेमोरी सिस्टम, च्याटजीपीटीलाई अझ बनायो स्मार्ट

काठमाडौं । ओपनएआईले आफ्नो लोकप्रिय एआई च्याटबोट च्याटजीपीटीको मेमोरी र समग्र कार्यक्षमता सुधार गर्ने ठूलो अपग्रेड सार्वजनिक गरेको छ । नयाँ अपडेटपछि च्याटजीपीटीले प्रयोगकर्तासँग भएका अघिल्ला कुराकानीबाट प्राप्त जानकारीलाई अझ प्रभावकारी रूपमा उपयोग गर्न सक्ने भएको छ ।

कम्पनीका अनुसार यो सुधार प्रयोगकर्ताका रुचि, प्राथमिकता, चलिरहेका काम तथा व्यक्तिगत सन्दर्भहरूलाई समयसँगै सम्झन र लागू गर्न सक्ने क्षमतामा केन्द्रित छ । यसले पुराना महत्वपूर्ण विवरणहरू बिर्सिने समस्या कम गर्ने र लगातार बढ्दै गएको प्रयोगकर्ता आधारलाई सहज सेवा दिने लक्ष्य राखिएको छ ।

ओपनएआईले सार्वजनिक गरेको विवरणअनुसार यो प्रणाली नयाँ मेमोरी आर्किटेक्चरमा आधारित छ, जसलाई कम्पनीले ‘ड्रिमिङ’ नाम दिएको छ । यो प्रविधिले ब्याकग्राउन्ड प्रक्रियामार्फत अघिल्ला संवादबाट संकलित जानकारीलाई व्यवस्थित, अद्यावधिक र सन्दर्भअनुसार प्रयोगयोग्य बनाउने काम गर्छ ।

यस प्रणालीले च्याटजीपीटीलाई प्रयोगकर्ताका अघिल्ला कुराकानी सम्झन मात्र होइन, ती जानकारीलाई निरन्तर अद्यावधिक राख्न पनि सहयोग गर्नेछ । यसले प्रयोगकर्ताले बारम्बार एउटै विवरण दोहोर्‍याउनु पर्ने अवस्थालाई घटाउने अपेक्षा गरिएको छ ।

हाल यो सुविधा संयुक्त राज्य अमेरिकामा रहेका च्याटजीपीटी ‘प्लस’ र ‘प्रो’ सब्स्क्राइबरहरूका लागि चरणबद्ध रूपमा उपलब्ध गराइँदैछ । कम्पनीले आगामी हप्ताहरूमा यसलाई अन्य क्षेत्रका साथै ‘फ्री’ र ‘गो’ प्रयोगकर्तासम्म विस्तार गर्ने जनाएको छ ।

ओपनएआईका अनुसार यो नयाँ प्रणाली विगत दुई वर्षदेखि विकसित हुँदै आएको मेमोरी फिचरको विस्तारित रूप हो । सन् २०२४ मा ‘सेभ्ड मेमोरिज’ फिचर ल्याइएको थियो, जसले प्रयोगकर्तालाई च्याटजीपीटीलाई निश्चित जानकारी सम्झन आग्रह गर्ने सुविधा दिएको थियो । त्यसपछि यसको विस्तार गर्दै प्रारम्भिक ‘ड्रिमिङ’ संस्करणमार्फत च्याटबोटलाई पुराना कुराकानी सन्दर्भमा प्रयोग गर्न सकिने बनाइएको थियो ।

नयाँ अपग्रेडमा प्रणालीले तीन प्रमुख क्षेत्रमा सुधार गरेको कम्पनीले जनाएको छ । पहिलो, अघिल्ला कुराकानीबाट उपयोगी सन्दर्भ कायम राख्ने क्षमता; दोस्रो, प्रयोगकर्ताका प्राथमिकता निरन्तर लागू गर्ने क्षमता; र तेस्रो, समयअनुसार भण्डारण गरिएका जानकारी अद्यावधिक राख्ने क्षमता ।

ओपनएआईले सार्वजनिक गरेको आन्तरिक परीक्षण नतिजाअनुसार यी सबै पक्षमा उल्लेखनीय सुधार देखिएको छ । विवरण सम्झने क्षमता ६७.९ प्रतिशतबाट बढेर ८२.८ प्रतिशत पुगेको छ ।

प्रयोगकर्ताको प्राथमिकता पालन गर्ने दर ५५.३ प्रतिशतबाट बढेर ७१.३ प्रतिशत पुगेको छ भने समयअनुसार मेमोरी व्यवस्थापन गर्ने क्षमता ५२.२ प्रतिशतबाट बढेर ७५.१ प्रतिशत पुगेको छ ।

यसका साथै, कम्पनीले नयाँ ‘मेमोरी समरी पेज’ पनि उपलब्ध गराउने भएको छ । यस पेजमार्फत प्रयोगकर्ताले च्याटजीपीटीले उनीहरूका बारेमा के–के जानकारी सम्झिएको छ भन्ने हेर्न सक्नेछन् ।

उक्त सुविधामार्फत प्रयोगकर्ताले भण्डारण गरिएका विवरणहरूको समीक्षा गर्न, आवश्यक परे परिवर्तन वा हटाउन तथा भविष्यका कुराकानीका लागि कुन जानकारी सम्झिने भन्ने नियन्त्रण गर्न सक्ने व्यवस्था गरिएको छ ।