कीवर्डहरू -

नयाँ जेनेरेटिभ म्युजिक टुल विकासमा काम गर्दै ओपनएआई

नयाँ जेनेरेटिभ म्युजिक टुल विकासमा काम गर्दै ओपनएआई

कृत्रिम बौद्धिकता (एआई) कम्पनी ओपनएआई हाल एउटा नयाँ जेनेरेटिभ म्युजिक टुल विकास गरिरहेको खबर सार्वजनिक भएको छ। द इन्फर्मेशनको रिपोर्टअनुसार, यो उपकरणले पाठ (टेक्स्ट) र अडियो प्रम्प्टका आधारमा म्युजिक सिर्जना गर्न सक्नेछ।

यस टुलको प्रयोग गरेर प्रयोगकर्ताले विद्यमान भिडियोहरूमा संगीत थप्न वा कुनै गीतमा गिटारको साथ (accompaniment) जोड्न सक्ने बताइएको छ। तर यो उपकरण कहिले सार्वजनिक हुनेछ वा यसलाई च्याटजीपीटी वा ओपनएआईको भिडियो एप सोरासँग एकीकृत गरिने हो वा स्वतन्त्र उत्पादनको रूपमा ल्याइने हो भन्नेबारे अहिलेसम्म स्पष्ट गरिएको छैन।

स्रोतका अनुसार, ओपनएआईले यस परियोजनाका लागि जुलियार्ड स्कूलका केही विद्यार्थीहरूसँग सहकार्य गरिरहेको छ। ती विद्यार्थीहरूले संगीतका स्कोर एनोटेट गरेर उक्त टुलका लागि प्रशिक्षण डाटा तयार गरिरहेका छन्।

ओपनएआईले यसअघि पनि संगीत सिर्जना गर्न सक्ने मोडलहरू सार्वजनिक गरिसकेको भए पनि ती च्याटजीपीटीभन्दा पहिलेका संस्करणहरू हुन्। पछिल्ला वर्षहरूमा कम्पनीले बढी टेक्स्ट-टु-स्पीच र स्पीच-टु-टेक्स्ट क्षमतामाथि ध्यान केन्द्रित गरिरहेको थियो।

हाल गूगल र सुनो जस्ता कम्पनीहरूले पनि जेनेरेटिभ म्युजिक मोडलहरूमा काम गरिरहेका छन्।