वेब ब्राउजर निर्माता ओपेराले आफ्नो नयाँ एजेण्टिक एआई ब्राउजर ‘ओपेरा नियोन’ (Opera Neon) सार्वजनिक गरेको छ ।
सन् २०२५ भरि विभिन्न प्रविधि कम्पनीहरूले एजेण्टिक एआई ब्राउजर ल्याउने घोषणा गरिरहेका बेला ओपेराले पूर्ण रुपमा एकीकृत कृत्रिम बुद्धिमत्ता अनुभव दिने उद्देश्यले नियोन बजारमा ल्याएको हो।
योसँगै, नियोनले पर्प्लेक्सिटीको ‘कोमेट’, द ब्राउजर कम्पनीको ‘डिया’ र ‘फेल्लो एआई ब्राउजर’सँग प्रतिस्पर्धा गर्नेछ ।
साथै, छिट्टै नै सार्वजनिक हुने भनिएको च्याटजीपीटीको एआई ब्राउजर पनि यस क्षेत्रमा ठूलो चुनौती बन्ने अपेक्षा गरिएको छ।
एजेण्टिक ब्राउजिङको नयाँ अनुभव
ओपेरा नियोनको मुख्य आकर्षण भनेको प्रयोगकर्ताले सिधै आदेश दिएपछि ब्राउजरले आफैं कार्य सम्पन्न गर्ने सुविधा हो । होटल बुकिङदेखि लिएर ट्याब खोल्ने, बन्द गर्ने, स्क्रोल गर्ने, फरक साइटमा काम गर्ने जस्ता कार्यहरू नीयनले स्वतः सम्पन्न गर्न सक्छ ।
यसका लागि ओपेराले ‘Neon Do’ र ‘Tasks’ भन्ने सुविधा जोडेको छ । एउटै मुख्य ट्याबभित्र विभिन्न सब-ट्याब खोली एउटै कार्यसम्बन्धी सूचनालाई समेट्ने प्रणाली ‘Tasks’ मार्फत प्रयोगकर्ताले सजिलै बहुआयामिक काम गर्न सक्नेछन् ।
त्यस्तै, ‘Cards’ नामक प्रोग्राम गरिएको प्रम्प्टहरूले प्रयोगकर्तालाई विशिष्ट काम तुरुन्तै सम्पन्न गर्न मद्दत गर्नेछन् । यी कार्डहरूलाई प्रयोगकर्ताले मिलाएर नयाँ संयोजन बनाउन, अनुकूलन गर्न र समुदायले तयार गरेका कार्डहरू पनि प्रयोग गर्न सक्नेछन् ।
मूल्य र उपलब्धता
हालका लागि ओपेरा नीयन निशुल्क उपलब्ध छैन । प्रयोगकर्ताले यसमा पहुँच पाउन पहिलो चरणमा ‘वेटलिस्ट’ मा नाम दर्ता गर्नुपर्नेछ । सेवा प्रयोग गर्न अनुमति पाउनेहरूले भने मासिक १९.९० अमेरिकी डलर (झण्डै २० डलर) तिर्नुपर्नेछ, जुन हालका अधिकांश एआई सेवाको मूल्य सरह हो।
ओपेराले यसलाई पूर्ण समाधानका रूपमा प्रस्तुत गरेको छ, जसले न्यूनतम मानवीय हस्तक्षेपमै जटिल कामहरू सम्पन्न गर्न सक्ने दाबी गरेको छ।