टिकटकले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसँगको साझेदारीमा मंसिर १८ गते डिजिटल सेफ्टी समिट नेपालको आयोजना गरेको छ । अनलाइन सुरक्षा र डिजिटल साक्षरता प्रवर्द्धन गर्नका लागि डिजिटल सेफ्टी समिट नेपालको आयोजना गरिएको थियो ।
उक्त कार्यक्रममा सरकारी अधिकारी, शिक्षाविद्, डिजिटल अधिकार विज्ञ, बालबालिकाको सुरक्षा सम्बन्धि अधिवक्ताहरू र उद्योगी व्यवसायी लगायत विभिन्न सरोकारवालाहरूलाई एकै ठाउँमा उपस्थिति भएका थिए ।
कार्यक्रममा ‘नेभिगेटिङ रिस्क, प्रोटेक्टिङ युजर्स: ए कोलाबोरेटिभ अप्रोच टु डिजिटल सेफ्टी’ विषयमा प्यानल संवाद समेत भएको थियो । सो सम्मेलनमा टिकटकका फ्यामिली पेयरिंग जस्ता टुल्स र नेपाली प्रयोगकर्ताहरूको सुरक्षामा यसको प्रतिबद्धतालाई जोड दिँदै मुख्य सुरक्षा पहलहरू बारे जानकारी समेत दिइएको थियो ।
कार्यक्रममा संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले डिजिटल सुरक्षा अभिवृद्धि गर्न आवश्यक रहेको बताए । यस्तै सम्मेलनमा दक्षिण एसियाका लागि टिकटकका सार्वजनिक नीति तथा सरकार सम्बन्ध प्रमुख फिरदौस मोत्ताकिनले विशेष गरी बालबालिका र युवाहरूको अनलाइन सुरक्षा र भलाइ सुनिश्चित गर्न प्रतिबद्ध रहेको बताएका थिए ।
‘यो शिखर सम्मेलनले नेपालमा सुरक्षित अनलाइन वातावरण सिर्जना गर्ने दिशामा एक महत्वपूर्ण कदम चाल्नेमा हामी विश्वस्त छौं,’ उनले भने, ‘हामी हाम्रा पहलहरू मार्फत् डिजिटल साक्षरता र अनलाइन सुरक्षा प्रवर्द्धन गर्न समर्पित छौं र हामी यो लक्ष्य हासिल गर्न नेपाल सरकारसँगको सहकार्यलाई निरन्तरता दिन तत्पर छौं ।’
सम्मेलनमा टिप्पणी गर्दै संचार तथा सूचना प्रविधि मन्त्रालयका प्रवक्ता गजेन्द्र ठाकुरले नेपालका युवाहरूका लागि सुरक्षित र समावेशी डिजिटल वातावरण सुरक्षित गर्न यो एउटा महत्त्वपूर्ण कदम भएको बताएका थिए ।
बालबालिकालाई अनलाइन सुरक्षा प्रदान गर्ने र डिजिटल रूपमा जिम्मेवार समाजको प्रवर्द्धन गर्ने नविनतम उपायहरू लागू गर्ने प्रयासमा सरकार अडिग रहेको उनको भनाइ छ ।