काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकहरूको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एभरेस्ट बैंक लिमिटेडले ३ करोड ११ लाख रुपैयाँभन्दा बढी आर्थिक सहयोग उपलब्ध गराएको छ ।
बैंकले संस्थागत सामाजिक उत्तरदायित्व र आफ्ना कर्मचारीहरूको तर्फबाट गरी कुल ३ करोड ११ लाख ५४ हजार ६०५ रुपैयाँ ३८ पैसा सरकारको ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ मा जम्मा गरेको हो ।
जसअनुसार बैंकको तर्फबाट २ करोड ५१ लाख रुपैयाँ र बैंकका कर्मचारीहरूको तर्फबाट ६० लाख ५४ हजार ६०५ रुपैयाँ ३८ पैसा संकलन गरी उक्त कोषमा हस्तान्तरण गरिएको बैंकले जनाएको छ ।
नगद सहयोगका साथै बैंकका कर्मचारीहरूको सक्रियतामा संकलन गरिएका अत्यावश्यक राहत सामग्रीहरू समेत बाढी प्रभावित क्षेत्रमा पठाउन सम्बन्धित निकायलाई प्रत्यक्ष रूपमा हस्तान्तरण गरिएको छ ।
विपद्मा परी ज्यान गुमाउनेहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै बैंकले शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ । साथै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै राहत तथा उद्धार कार्यमा अहोरात्र खटिएका सुरक्षाकर्मी, उद्धारकर्मी, स्थानीय तह तथा सहयोगी संघ संस्थाहरूप्रति बैंकले आभार व्यक्त गरेको छ ।
आईसीटी समाचार