राहदानी विभागले राहदानी सेवा सुधारका लागि नयाँ आपूर्तिकर्तासँग सम्झौता गरी नयाँ प्रणालीमार्फत राहदानी जारी गर्ने तयारी पूरा गरेको जनाएको छ। विभागका अनुसार नयाँ प्रणाली सञ्चालनमा ल्याउन आवश्यक राहदानी प्रणाली, राहदानी पुस्तिका तथा अन्य प्राविधिक तयारी सम्पन्न भइसकेको छ।
विभागले अबको एक–दुई महिनाभित्र हालको प्रणालीबाट नयाँ प्रणालीमा स्विच गर्ने तयारी रहेको जनाएको छ। प्रणाली परिवर्तनका क्रममा अन्तरिम अवस्थामा सेवा केही समय प्रभावित हुन सक्ने चेतावनी समेत दिएको छ।
सूचना अनुसार, प्रणाली परिवर्तनका कारण जिल्ला तथा इलाका प्रशासन कार्यालय र विदेशस्थित नेपाली नियोगबाट प्रदान गरिने राहदानी सेवा १ देखि ३ हप्तासम्म बन्द हुन सक्ने सम्भावना छ। त्यस्तै, विभागबाट प्रदान गरिने राहदानी सेवा पनि करिब एक हप्तासम्म बन्द हुन सक्ने जनाइएको छ।
नयाँ प्रणाली लागू भएपछि पनि प्रणाली पूर्ण रूपमा स्थिर हुन १ देखि ३ महिना लाग्न सक्ने भएकाले उक्त अवधिमा जिल्ला/इलाका प्रशासन कार्यालय तथा विदेशस्थित नेपाली नियोगबाट आवेदन दिँदा राहदानी तयार हुन अहिलेभन्दा बढी समय लाग्न सक्ने विभागले जनाएको छ।
यस अवस्थालाई ध्यानमा राख्दै विभागले आगामी ६ महिनाभित्र (२०८३ असोजभित्र) राहदानी आवश्यक पर्न सक्ने सेवाग्राहीलाई अन्तरिम अवस्था सुरु हुनु अघि नै आवेदन दिन आग्रह गरेको छ। सेवाग्राहीले सम्बन्धित जिल्ला वा इलाका प्रशासन कार्यालय, विदेशस्थित नेपाली नियोग वा विभागबाट राहदानी सेवा लिन सक्ने विभागले जनाएको छ।
नयाँ प्रणाली सुरु हुने ठ्याक्कै मिति तथा त्यस अवधिमा गरिने व्यवस्थाबारे अर्को सूचना मार्फत जानकारी दिइने पनि विभागले स्पष्ट पारेको छ।

आईसीटी समाचार