कीवर्डहरू -

भाडा नबढाएको पठाओको स्पष्टिकरण, अफलाइन राइडबाट होसियार रहन आग्रह

भाडा नबढाएको पठाओको स्पष्टिकरण, अफलाइन राइडबाट होसियार रहन आग्रह

सोमबार राजधानीमा सार्वजनिक यातायात अवरुद्ध भएको समयमा विभिन्न राइड सेयरिङ सेवामार्फत भाडा वृद्धि गरिएको भन्ने समाचारहरु बाहिरिएसँगै पठाओले आफ्नो तर्फबाट कुनै पनि भाडा वृद्धि नगरिएको स्पष्ट पारेको छ।

पठाओद्वारा जारी सूचना अनुसार, एपमा देखाइएको भाडा नै अन्तिम शुल्क भएको र कम्पनीले नियमित शुल्कमै सेवा दिइरहेको जनाएको छ  । “हामीले कुनै पनि भाडा बढाएका छैनौं, र पठाओ एपमा कुनै शुल्क वृद्धि गरिएको छैन,” सूचनामा भनिएको छ ।

साथै, यस्तो असहज परिस्थितिमा सेवाको पहुँच सुनिश्चित गर्न पठाओले राइडरहरूलाई कम्पनीकै तर्फबाट ‘क्वेस्ट’ र ‘इन्सेन्टिभ’ सुविधा उपलब्ध गराउँदै बढी राइड गर्न प्रोत्साहन दिइरहेको उल्लेख छ।

कम्पनीले यात्रुहरूलाई अफलाइन राइडबाट टाढा रहन पनि अनुरोध गरेको छ। अफलाइन राइडका कारण विगतमा विभिन्न व्यक्तिहरू ठगी, डकैती, दुर्ब्यवहारजस्ता घटनामा परेको उदाहरण रहेको भन्दै सुरक्षा जोखिम रहेको जनाएको छ।

साथै, अफलाइन यात्रा गर्दा सो को कुनै रेकर्ड नहुने, बीमा नहुने, र गम्भीर आपराधिक जोखिम हुने हुँदा मोबाइल एप प्रयोग गरेर मात्रै सेवा लिन अनुरोध गरिएको छ।

कुनै पनि समस्या वा गुनासो भएमा पठाओको २४ घण्टे कस्टमर सपोर्ट नम्बर ०१-५९७००९९ मा सम्पर्क गर्न सकिने जानकारी समेत पठाओले दिएको छ।