कीवर्डहरू -

पठाओ नेपालका प्रबन्ध निर्देशक अशिममान सिंह बस्न्यात काठमाडौँ–१ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने

पठाओ नेपालका प्रबन्ध निर्देशक अशिममान सिंह बस्न्यात काठमाडौँ–१ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने

राइड सेयरिङ प्लेटफर्म पठाओ नेपालका प्रबन्ध निर्देशक अशिममान सिंह बस्न्यातले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा काठमाडौँ–१ बाट उम्मेदवारी दिने घोषणा गरेका छन्।

आइतबार सामाजिक सञ्जालमार्फत भिडियो सन्देश सार्वजनिक गर्दै बस्न्यातले काठमाडौँ–१ बाट निर्वाचनमा सहभागी हुने घोषणा गरेका हुन्। उनले आफू राजनीति गर्न नभई जिम्मेवारी लिन चुनावी मैदानमा उत्रिएको स्पष्ट पारेका छन्।

हालको व्यवस्थाले सक्षम र प्रतिभाशाली युवालाई पनि अनिश्चित भविष्यतर्फ धकेलिरहेको भन्दै उनले व्यवस्था सहज नहुँदा क्षमता हुँदाहुँदै पनि अवसर नपाइने अवस्था रहेको बताएका छन्। ‘व्यवस्था सहज भएन भने क्षमता भएर पनि भविष्य अनिश्चित हुन्छ,’ उनले भिडियो सन्देशमा उल्लेख गरेका छन्।

बस्न्यातले चुनावी प्रतिस्पर्धामा अघि बढ्दै आफ्ना तीन प्रमुख एजेन्डा सार्वजनिक गरेका छन्। पहिलो एजेन्डामा उनले उद्यमशीलता र स्टार्टअपलाई समर्थन गर्ने व्यवस्था आवश्यक रहेको बताएका छन् । युवा पुस्ताले नेपालमै सपना देख्न र त्यसलाई कार्यान्वयन गर्न सक्ने वातावरण निर्माण गर्नु आफ्नो प्राथमिकता रहेको उनको भनाइ छ।

दोस्रो एजेन्डाका रूपमा उनले जवाफदेहितालाई अघि सारेका छन्। काम गर्नेले जवाफ दिनुपर्ने र निर्णय गर्नेले जिम्मेवारी लिनुपर्ने संस्कार नै सुशासनको आधार हुने उनले बताएका छन्।

तेस्रो एजेन्डामा उनले अनुभव र नयाँ पुस्ताबीच सेतु निर्माण गर्ने पहल आवश्यक रहेको उल्लेख गरेका छन्। अनुभवी पुस्ता र युवाबीच संवाद, मार्गदर्शन र सहकार्य बढाउँदै समाजलाई एकजुट बनाउने लक्ष्यसहित आफू अघि बढेको बस्न्यातको भनाइ छ।

निजी क्षेत्रबाट उदाएका उद्यमीका रूपमा चिनिएका बस्न्यातको उम्मेदवारी घोषणालाई काठमाडौँ–१ मा वैकल्पिक राजनीतिक अभ्यासको संकेतका रूपमा हेरिएको छ।