कीवर्डहरू -

पोखरामा राइड सेयरिङ प्लेटफर्म बन्द गर्ने सूचनाप्रति पठाओको आपत्ति

पोखरामा राइड सेयरिङ प्लेटफर्म बन्द गर्ने सूचनाप्रति पठाओको आपत्ति

यातायात व्यवस्था कार्यालय कास्कीले राइड सेयरिङ प्लेटफर्म बन्द गर्न सूचना जारी गरेकोप्रति राइड सेयरिङ प्लेटफर्म पठाओ नेपालले आपत्ति जनाएको छ ।

पोखरामा मिडियाकर्मीहरुसँगको छलफलमा पठाओ नेपालका प्रबन्ध निर्देशक असिममान सिंह बस्न्यातले यातायात कार्यालयले विगतमा भएका कानूनी अभ्यासलाई समेत अवलम्वन नगरी एकपक्षीयरुपमा राइड सेयरिङ प्लेटफर्ममाथि अंकुश लगाएको भन्दै आपत्ति जनाएका हुन् ।

राइड सेयरिङ प्लेटफर्म बन्द नगरी सहजीकरण गर्नुपर्ने बस्न्यात बताउँछन् । ‘विगतमा वागमती प्रदेशमा राइड सेयरिङलाई सहजीकरण गरेजस्तै अहिले गण्डकीमा पनि सहजीकरणको आवश्यकता छ,’ उनी भन्छन् । 

यातायात व्यवस्था विभागले राइड सेयरिङलाई सञ्चालनका लागि दिइरहेको तथा अदालतले पनि बन्द नगर्नु भनेका आधारमा अहिले कम्पनी सञ्चालन भइरहेको पठाओ नेपालले बताएको छ ।

सरकारले कार्यविधि बनाइदिएमा त्यसैअनुरुप अगाडि बढ्न समेत तयार रहेको उनको भनाइ छ । ‘कानून अस्पष्ट भएमा त्यसलाई व्याख्या गर्ने काम अदालतको हो,’ बस्न्यातले भने, ‘तर यातायात कार्यालयले आफ्नो तालुकदार विभागलाई समेत अटेरी गरेको र उच्च अदालतको परमादेशलाई समेत अवमूल्यन गरेर आफूखुशी व्यवसाय नै बन्द गर्न निर्देशन दिनु गलत हो।’

गण्डकी प्रदेशको पोखरामा पठाओ नेपालले गत वैशाख १ देखि मोटरसाइकल तथा गत जेठ २४ देखि ट्याक्सीमार्फत राइड सेयरिङ व्यवसाय सुरू गरेको थियो।

सो समयमा पठाओले मन्त्रालय, जिल्ला प्रशासन कार्यालय र प्रहरीसँग समेत आवश्यक समन्वय र सहजीकरणका लागि पत्राचार समेत गरेको थियो ।