कीवर्डहरू -

एकीकृत डाटा व्यवस्थापन केन्द्रमा स्थायी दरबन्दी थप हुने

एकीकृत डाटा व्यवस्थापन केन्द्रमा स्थायी दरबन्दी थप हुने

एकीकृत डाटा व्यवस्थापन केन्द्र (आईडीएमसी) मा स्थायी दरबन्दी थप हुने भएको छ । सोमबार मुख्यसचिव एकनारायण अर्यालको अध्यक्षतामा बसेको बैठकले आवश्यक स्थायी दरबन्दी थप गर्ने निर्णय गरेको हो ।  

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले एकीकृत डाटा व्यवस्थापन केन्द्र (IDMC) मा आवश्यक स्थायी दरबन्दी थप गरी केन्द्रको स्तरोन्नती गर्ने एवं सो निकायलाई सक्रिय गराई सूचना प्रविधिको माध्यमबाट सेवाप्रवाह र कार्यसम्पादन गर्ने प्रणालीलाई मजबुत बनाउने तथा हाल प्रयोगमा रहेका सफ्टवेयरको स्तरोन्नती गर्ने कार्यलाई अगाडि बढाउने सचिव बैठकले निर्णय गरेको छ । 

यस्तै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले विकास गरी प्रयोगमा ल्याएको एकीकृत वेबसाइट व्यवस्थापन प्रणालीलाई सबै सरकारी निकायले प्रयोग गर्ने पनि सो बैठकले निर्णय गरेको छ । 

यसका साथै सरकारी इमेलको प्रयोग एवं सोको सुरक्षाका लागि एकीकृत सरकारी इमेल प्रणालीमा हाल देखिएका समस्या समाधान गर्न अपनाउनु पर्ने रणनीतिका सम्बन्धमा सुझाव दिन कार्यदल गठन गरिएको छ । 

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिवको संयोजकत्वमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको सूचना प्रविधि महाशाखा प्रमुख र सूचना प्रविधि विभागका महानिर्देशक रहने गरी कार्यदल बनेको छ । 
कार्यदलको सुझाव सहितको कार्ययोजना तयार गरी सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आगामी सचिव बैठकमा पेश गर्नेछ ।