परप्लेक्सिटीले आफ्नो कोमेट एआई ब्राउजर सबैका लागि निःशुल्क उपलब्ध गराएको छ। यसअघि यो सेवा परप्लेक्सिटी म्याक्स प्रयोगकर्ताहरूलाई मात्र उपलब्ध थियो, जसको लागत प्रतिमहिना २०० डलर पर्थ्यो।
कम्पनीका अनुसार, कोमेट इन्टरनेटमा सबैभन्दा धेरै खोजिएको ब्राउजर बनेको छ, जसका लागि लाखौँ मानिसहरूले वेटलिस्टमा नाम लेखाएका थिए। अब वेटलिस्ट हटाइएको छ र सबैले सजिलै डाउनलोड गर्न सक्ने भएका छन्। साथै, यो कुनै सीमित अफर नभई कोमेट 'सधैं निःशुल्क' रहने कम्पनीले जनाएको छ।
कोमेट एउटा यस्तो वेब ब्राउजर हो जसमा परप्लेक्सिटी एआई नै डिफल्ट सर्च इञ्जिनको रूपमा प्रयोग हुन्छ। प्रत्येक खोजीमा साइडबारमा च्याटबोट देखिन्छ, जसले प्रश्नहरूको उत्तर दिन, पाठ संक्षेप गर्न, इमेल पठाउने वा दिशानिर्देश खोज्ने जस्ता काम गर्न मद्दत गर्छ। यसले इन्टरनेटबाट जानकारी सङ्कलन गरी एआई-आधारित जवाफ प्रस्तुत गर्ने भएकाले महत्वपूर्ण कुरामा प्रयोगकर्ताले दोहो¥याएर पुष्टि गर्नुपर्ने सुझाव दिइएको छ।
परप्लेक्सिटी हाल मोबाइल संस्करणको कोमेट ब्राउजर र एक समग्र एआई सहायक (integrative assistant) मा पनि काम गरिरहेको छ। एआई ब्राउजर क्षेत्रमा यसअघि नै गूगल क्रोम र द ब्राउजर कम्पनीको डिया सक्रिय छन्, र अब कोमेट पनि प्रतिस्पर्धामा प्रवेश गरेको छ।