फोनपे भारतले आज काठमाडौंमा आयोजित एक विशेष कार्यक्रममा युनिफाइड पेमेन्ट इन्टरफेस (युपिआई) प्लेटफर्मद्वारा संचालित आफ्ना सेवाहरू प्रदर्शन गरेको छ ।
बैंकिङ क्षेत्रका प्रतिनिधि, भुक्तानी प्रणाली प्रदायकहरू, युपीआई भुक्तानी लिने व्यवसायीहरु र व्यापार संघहरूका प्रतिनिधिहरू लगायत नेपाली वित्तीय क्षेत्रका प्रमुख सरोकारवालाहरूलाई एकसाथ ल्याउन सफल भएको छ।
उक्त कार्यक्रमलाई नेपालको सबैभन्दा ठूलो भुक्तानी प्रणाली संचालक फोनपे ले समर्थन गरेको थियो जो नेपाल-भारत क्रस बोर्डर युपीआई अन्तरआवद्दताका लागि एनआईपीएलको काउन्टरपार्टी पनि हो ।
उक्त कार्यक्रममा फोनपे नेटवर्कका प्रमुख कार्यकारी अधिकृत दिवस सापकोटाले नेपालको डिजिटल अर्थतन्त्रको लागि युपीआईको सम्भावनाको बारेमा विशेष सम्बोधन गरेका थिए ।
कार्यक्रममा, नेपालको अर्थतन्त्र र वित्तीय क्षेत्रमा क्रस बोर्डर भुक्तानीको प्रभावको बारेमा संलग्न रुपमा प्यानल छलफल भएको थियो । उक्त प्यानलमा कुमारी बैंकका प्रमुख डिजिटल बैंकिङ अधिकृत अनिश ताम्राकार, नेपाल पर्यटन बोर्डका प्रबन्धक श्रद्धा श्रेष्ठ, ईसेवाका प्रमुख कार्यकारी अधिकृत जगदीश खड्का र विवेक राणा - ICT/MIS कन्सल्टेन्ट्, एसियाली विकास बैंक (एडीबी) का प्रतिनिधि रहेका थिए ।
उक्त प्यानल छलफलमा, क्रस बोर्डर भुक्तानी र यसले नेपालको अर्थतन्त्र र वित्तीय क्षेत्रमा पार्ने प्रभावका साथै अन्तर्राष्ट्रिय लेनदेन सहजीकरणमा नियामक अवरोधहरू र अनुपालन (Compliance) मागहरूको विषयमा छलफल भएको थियो ।
उक्त कार्यक्रममा भारतको फोनपेका कार्यकारी अधिकृत रितेश पाईले सेवाहरूको प्रदर्शनी गरेका थिए । सो प्रस्तुतिमा भारतीय पर्यटक र नेपाली व्यापारी दुवैलाई फाइदा हुने समाधानलाई उजागर गरिएको थियो ।
नेपाल भारतीय पर्यटकहरु बीचमा धेरै लोकप्रिय गन्तव्य हो । पर्यटकहरुले अब विभिन्न पर्यटक स्थलहरू, खुद्रा स्टोरहरू, धार्मिक स्थलहरू र अन्य लोकप्रिय स्थानहरूमा भुक्तानी गर्न युपीआई प्रयोग गर्न सक्छन्। प्रयोगकर्ताहरूले नेपालमा फोनपे क्युआरमा दर्ता भएका व्यवसायिक स्थानहरूमा युपीआई सक्षम एपबाट क्यु.आर कोडहरू सजिलै स्क्यान गर्न सक्नेछन् ।
यो सेवा फोनपे को एनपीसीआई इन्टरनेशनल पेमेन्ट्स लिमिटेड (NIPL) सँगको साझेदारी मार्फत सहजीकरण गरिएको हो । यस साझेदारी मार्फत फोनपे ले, भुक्तानी सेवा प्रदायकहरू, अग्रणी बैंकहरू र वालेटहरूमा क्यु.आर कोड-आधारित भुक्तानीहरूलाई सक्षम बनाएको छ र भारतीय यात्रुहरूलाई लेनदेनको लागि युपीआई प्रयोग गर्न सुविधा दिएको छ ।
अब छिट्टै नेपालबाट भारत भ्रमण गर्ने पर्यटकहरुले पनि युपीआई क्युआर कोड स्क्यान गर्न, वालेटमा आधारित एपहरू जस्ता वित्तीय साधनहरू प्रयोग गरी सजिलै भुक्तान गर्न मिल्ने छ ।