काठमाडौं । आइएमई खल्ती लिमिटेड (खल्ती) ले स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेड-एससिटीसँगको सहकार्यमा डिजिटल भिसा कार्ड सेवा सार्वजनिक गरेको छ । यो सेवा खल्ती कार्ड्स इकोसिस्टम अन्तर्गत सार्वजनिक गरिएको पहिलो कार्ड सेवा हो ।
खल्ती कार्ड्स खल्तीको एकीकृत कार्ड प्लेटफर्म हो, जसअन्तर्गत आगामी दिनहरूमा प्रयोगकर्ताको आवश्यकता र विभिन्न प्रयोगका उद्देश्यलाई मध्यनजर गर्दै थप डिजिटल तथा भौतिक कार्ड सेवाहरू सार्वजनिक गर्ने योजना रहेको छ ।
‘डिजिटल भिसा कार्डको सुरुवातसँगै अब खल्ती प्रयोगकर्ताहरूले बिना भौतिक कार्ड मोबाइलबाटै तत्काल सुरक्षित ई-कमर्स कारोबार गर्न सक्नेछन् । यो कार्ड प्रयोग गर्दा खल्ती वालेटमा रहेको मौज्दात रकमबाट सहज रूपमा भुक्तानी गर्न सकिनेछ ।
साथै, कार्ड प्रयोग गर्दा खल्ती वालेटमा पर्याप्त मौज्दात नभएको अवस्थामा भुक्तानी प्रक्रिया पूरा गर्न लिंक गरिएको प्राथमिक बैंक खाताबाट रकम स्वत: भुक्तानी हुने नयाँ सुविधा समेत उपलब्ध गराइएको छ ।
३ महिनासम्म नि:शुल्क र आकर्षक अफरहरू
डिजिटल भिसा कार्ड : सेवा सुरुवातको अवसरमा खल्तीले ग्राहकहरूका लागि विशेष अफरहरू सार्वजनिक गरेको छ:
नि:शुल्क कार्ड सुविधा: सम्पूर्ण ग्राहकहरूका लागि पहिलो ३ महिनासम्म यो डिजिटल कार्ड पूर्ण रूपमा नि:शुल्क उपलब्ध गराइएको छ ।
कार्ड सक्रियता सुविधा: कार्ड सुचारु गर्ना साथ ग्राहकले १,००० दामी पोइन्ट्स र रु. १,२०० सम्मका विभिन्न क्यासब्याक तथा अन्य सुविधाहरू प्राप्त गर्नेछन् ।
ई-कमर्स कारोबारमा क्यासब्याक: प्रयोगकर्ताहरूले प्रत्येक ई-कमर्स कारोबारमा ०.७५ प्रतिशतसम्म क्यासब्याक प्राप्त गर्न सक्नेछन् ।
१ मिनेटमै कार्ड तयार : खल्तीका प्रयोगकर्ताले एपभित्रै एक मिनेटभन्दा कम समयमा यो कार्ड सक्रिय गरी तत्कालै प्रयोग गर्न सक्नेछन् ।
कहाँ-कहाँ प्रयोग गर्न सकिन्छ ?
कार्ड जारी भएकै मितिदेखि दराज (Daraz) लगायतका विभिन्न इ-कमर्स प्लेटफर्म, एयरलाइन्स टिकटीङ, होटल तथा ट्राभल बुकिङ, फूड डेलिभरी र भिसा (Visa) भुक्तानी स्वीकार गर्ने जुनसुकै अनलाइन सेवाहरूमा यसबाट सहजै भुक्तानी गर्न सकिनेछ ।
सेवा सुरुवात गरेको अवसरमा खल्तीका प्रमुख कार्यकारी अधिकृत (CEO) प्रवीण रेग्मीले भन्नुभयो: "खल्ती डिजिटल भिसा कार्डले नगदरहित अर्थतन्त्र निर्माण, औपचारिक डिजिटल कारोबार वृद्धि, इ-कमर्स क्षेत्रको विस्तार तथा डिजिटल वित्तीय साक्षरताको प्रवर्द्धनमा योगदान पुर्याउने अपेक्षा गरेका छौँ । यसले डिजिटल नेपाल अभियानको लक्ष्यलाई व्यवहारिक रूपमा अगाडि बढाउँदै हरेक नेपालीलाई डिजिटल भुक्तानी इकोसिस्टमसँग जोड्ने अवसर प्रदान गर्नेछ ।"
पूर्ण नियन्त्रण र उच्च सुरक्षा मापदण्ड
सुरक्षाको दृष्टिले खल्ती डिजिटल भिसा कार्डलाई अत्याधुनिक सुरक्षा मापदण्ड अनुसार डिजाइन गरिएको छ । विशिष्ट नियन्त्रण, कार्ड नम्बर, CVV र एक्सपायरी डेट (Expiry Date) जस्ता संवेदनशील विवरणहरू प्रयोगकर्ताले आवश्यक पर्दा मात्र हेर्न र अरू बेला Hide गर्न सक्नेछन् ।
इन्स्टेन्ट लक, कुनै शंकास्पद गतिविधि देखिएमा वा आवश्यक नपर्दा प्रयोगकर्ता आफैँले एपबाटै तत्काल कार्डलाई Lock वा Disable गर्न सक्नेछन् । यस सुविधाले प्रयोगकर्तालाई आफ्नो कार्ड र पैसामाथि शत-प्रतिशत नियन्त्रण प्रदान गर्दै सुरक्षित डिजिटल कारोबारको प्रत्याभूति दिन्छ ।
आईसीटी समाचार