कीवर्डहरू -

खल्ती स्टक हब सार्वजनिक, सेयर बजारको सम्पूर्ण जानकारी अब एउटै एपमा

खल्ती स्टक हब सार्वजनिक, सेयर बजारको सम्पूर्ण जानकारी अब एउटै एपमा

काठमाडौं । आइएमई खल्ती लिमिटेड (खल्ती) ले खल्ती स्टक हब सेवा सार्वजनिक गरेको छ । खल्तीले वार्षिक रुपमा सम्पन्न गर्ने महोत्सव खल्ती जात्रा २०८३ को अवसरमा सार्वजनिक गरिएको यो सेवामार्फत प्रयोगकर्ताहरूले अब नेप्से (NEPSE) को लाइभ डाटा, Top Gainers/Losers, IPO Pipeline लगायत सेयर बजारसँग सम्बन्धित सम्पूर्ण जानकारी खल्ती एपबाट नि:शुल्क प्राप्त गर्न सक्नेछन् ।

यो सेवा थपिएसँगै खल्ती एउटै एपबाट लाइभ सेयर मूल्य हेर्न, IPO ट्र्याक गर्न, Calculator ले लागत हिसाब गर्न र Dividend तालिका बुझ्न सकिने नेपालको पहिलो डिजिटल वालेट बनेको छ ।

नेपालमा लाखौं डिम्याट खाता भएपनि सही जानकारी र भरपर्दो प्लेटफर्मको अभावले गर्दा ठूलो संख्याका लगानीकर्ताहरू दोस्रो बजारको कारोबारमा जोडिन सकेका छैनन् । खल्ती स्टक हबले यही अभावलाई परिपूर्ति गर्दै सेयर बजारको पहुँचलाई थप सहज बनाउने लक्ष्य राखेको छ ।

यो प्लेटफर्म सेयर किनबेच गर्ने (ट्रेडिङ) प्लेटफर्म भने होइन तर यसले लगानीकर्ताहरूलाई ब्रोकरमार्फत कारोबार गर्नुअघि बजारको अवस्था बुझ्न, विश्लेषण गर्न र सुसूचित निर्णय लिन मद्दत गर्नेछ ।

खल्ती स्टक हबका मुख्य सुविधाहरू:
लाइभ मार्केट ड्यासबोर्ड :
लाइभ नेप्से इन्डेक्स, टप गेनर्स लुजर्स, टप टर्नओभर र सूचीकृत कम्पनीहरूको अन्तिम कारोबार मूल्यको रियल-टाइम जानकारी दिनेछ ।

वित्तीय क्याल्कुलेटरहरू : पहिलोपटक एउटै एपभित्र ट्रान्जेक्सन, एभरेजिङ, एडजस्टमेन्ट, डिभिडेन्ड, कम्पाउन्डिङ र एसआईपी गरी ६ वटा विभिन्न क्याल्कुलेटरहरू उपलब्ध छ ।

IPO र डिभिडेन्ड ट्र्याकिङ : आगामी IPO को घोषणा र आवेदन मिति, सूचीकृत कम्पनीहरूको डिभिडेन्ड भुक्तानी तालिका र प्रमोटर सेयर अनलक हुने मितिको जानकारी एकै ठाउँमा पाइनेछ ।

यस अवसरमा आइएमई खल्ती लिमिटेडका प्रमुख कार्यकारी अधिकृत प्रवीण रेग्मीले भने- "नेपालको पुँजी बजार प्रत्येक नेपालीको हो, केवल विशेषज्ञहरूको होइन । सही जानकारी र सजिलो उपकरणको अभावले लाखौं नागरिकले डिम्याट खाता खोलेर पनि कारोबार गर्न सकेका छैनन् । जुम्लाको किसानदेखि कतारमा काम गर्ने कामदारसम्म सबैले आफ्नो खल्ती एपबाटै सेयर बजार बुझ्न, ट्र्याक गर्न र सोचेर लगानी गर्न सक्नेछन् । खल्ती अब केवल डिजिटल भुक्तानीको माध्यम मात्र होइन यो नेपालीहरूलाई वित्तीय अनुशासन र लगानीको संस्कार सिकाउने एक Experience Platform हो ।"

कसरी प्रयोग गर्ने ?
खल्ती एप अपडेट गरी होम स्क्रिनमा रहेको “Khalti Stock Hub” आइकनमा ट्याप गरेर यो सेवा तुरुन्त नि:शुल्क उपयोग गर्न सकिन्छ । यो सेवा Android र iOS दुवैमा उपलब्ध छ । कुनै नयाँ दर्ता वा थप खाताको आवश्यकता नरहेको खल्तीले जनाएको छ ।