कीवर्डहरू -

सडक दुर्घटना सूचना व्यवस्था प्रणाली पुनः लागु गर्ने प्रहरीको तयारी

सडक दुर्घटना सूचना व्यवस्था प्रणाली पुनः लागु गर्ने प्रहरीको तयारी

सडक दुर्घटना सूचना व्यवस्था प्रणाली (आरएआईएमएस) सफ्टवेयर संचालन तथा ट्राफिक व्यवस्थापन सम्बन्धी सुरक्षा उपकरणहरू हस्तान्तरणमा सहकार्य गर्न नेपाल प्रहरी र राष्ट्रिय सडक सुरक्षा परिषद्‍ बिच समझदारी-पत्रमा हस्ताक्षर भएको छ । 

प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव ज्ञानेन्द्र कुमार झा ले नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित एक समारोह बिच सोमबार उक्त समझदारी-पत्रमा हस्ताक्षर गरेका हुन् ।

सो अवसरमा प्रहरी महानिरीक्षक कुँवरले सडक दुर्घटनाबाट हुने धनजनको क्षति एवम् ट्राफिक व्यवस्थापन गम्भीर विषय भएको चर्चा गरेका थिए । यस सम्झौताले दुर्घटना न्यूनिकरणका साथै धनजनको क्षतिमा समेत कमी ल्याउन सहयोग पुग्ने विश्वास उनले व्यक्त गरे । साथै दुर्घटना न्यूनिकरण तथा ट्राफिक व्यवस्थापनमा सडक सुरक्षा एवम् यातायात व्यवस्थापनसँग सम्बन्धित सबै सरोकारवाला निकायहरूको साथ सहयोग र समन्वय आवश्यक रहनेमा उनले जोड दिए ।  

समारोहमा सडक सुरक्षा व्यवस्थापन विज्ञ डा. पार्थ पराजुलीले RAIMS सफ्टवेयर संचालन तथा ट्राफिक सम्बन्धी सुरक्षा उपकरणहरू हस्तान्तरण सम्बन्धी प्रस्तुतीकरण गरेका थिए । यातायात पूर्वाधारहरूको व्यवस्थापन गरी सुरक्षा बढाउन, सीमापार व्यापारलाई सहज बनाउन र रणनीतिक सडक नेटवर्कको व्यवस्थापन क्षमताहरूलाई सुदृढ पार्ने सम्झौताको उद्देश्य रहेको छ । साथै, ती उद्देश्यहरू हासिल गर्न स्थानीय विज्ञहरूसँगको सहकार्यमा अन्तर्राष्ट्रिय परामर्शदाता समेत खटाइएको छ । 

नेपाल प्रहरीले चालेका मादक पदार्थ सेवन अनुगमन, लेन अनुशासन, सवारी भार क्षमता अनुगमन जस्ता कदमहरूले सडक दुर्घटनामा कमी ल्याउन सफल भएतापनि दीगो व्यवस्थापन र भरपर्दो सडक सुरक्षा अविलम्ब लागू गर्ने उद्देश्यका साथ मन्त्रालय, विश्व बैंक, राष्ट्रिय सडक सुरक्षा परिषद् र नेपाल प्रहरी बिचको सहकार्यमा पुन: RAIMS लागू गरिन लागेको कार्यक्रममा जानकारी दिइएको थियो । 

समारोहमा विश्व बैंकका वरिष्ठ यातायात विज्ञ कृष्णन् श्रीनिभाशन, प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, राष्ट्रिय सडक सुरक्षा परिषद्का पदाधिकारीहरू, सडक विभागका पदाधिकारीहरू एवं वरिष्ठ प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो ।