कीवर्डहरू -

दूरसञ्चार प्राधिकरणका पहिलो अध्यक्ष स्व. भूप राज पाण्डेको स्मृतीमा ‘पोलिसी डायलग सिरिज’ सुरू

दूरसञ्चार प्राधिकरणका पहिलो अध्यक्ष स्व. भूप राज पाण्डेको स्मृतीमा ‘पोलिसी डायलग सिरिज’ सुरू

नेपाल दूरसञ्चार प्राधिकरणका प्रथम अध्यक्ष स्व. भूप राज पाण्डेको स्मृतीमा नीतिगत छलफल गर्ने गरी 'भूप राज पाण्डे मेमोरियल पोलिसी डायलग सिरिज' सुरू भएको छ । 

नेपाल दूरसञ्चार प्राधिकरण कर्मचारी यूनियनले दूसञ्चार क्षेत्रमा सरोकारवालाहरूसँग नीतिगत छलफल गर्ने गरी नयाँ सिरिज सुरू गरेको हो । 

यस सिरिज अन्तर्गत शुक्रबार पहिलो एडिसन ‘डिजिटल रूपान्तरणका लागि दूरसञ्चार नीति: नियमन, नवप्रवर्तन र समावेशीकरणमा एकरूपता’ विषयक कार्यक्रम भएको छ । 

कार्यक्रममा वक्ताको रूपमा नेपाल टेलिकमकी पूर्व प्रमुख प्राविधिक अधिकृत मिनु प्रधानले प्रस्तूतीकरण दिएकी थिइन । कार्यक्रममा नेपालमा दूरसञ्चार क्षेत्रको जानकारी दिदै उनले अहिलेका नीतिले नयाँ प्रविधिहरू राम्रोसँग समेट्न नसकेको भन्दै संशोधन जरूरी रहेको बताएकी थिइन । 

उक्त कार्यक्रममा स्वागत मन्तव्य राख्दै नेपाल दूरसञ्चार प्राधिकरण कर्मचारी यूनियनका अध्यक्ष ई. कैलाश कार्कीले यस डायलग सिरिज अन्तर्गत दूरसञ्चार सेवाप्रदायक, नेपालमा रहेका अन्य नियामक निकाय तथा दूरसञ्चार क्षेत्रका सरोकारवालाहरूको समन्वयमा नियमित रूपमा कार्यक्रम आयोजना गर्ने सोच यूनियनको रहेको बताउदैँ यस्ता किसिमका छलफलबाट प्राप्त हुने निष्कर्षले प्राधिकरणलाई नीति नियम तर्जुमा गर्न सहयोगीको भुमिका निर्वाह गर्ने बताएका छन् । 

कार्यक्रममा प्राधिकरणका अध्यक्ष भुपेन्द्र भण्डारी, बोर्ड सदस्यरू कृष्ण प्रसाद पोखरेल र नवराज अधकारी, नेपाल टेलिकमकी प्रमुख प्राविधिक अधिकृत रिना डंगोल, एनसेलका नेटवर्क विभाग प्रमुख लेना केसरी कंशकार, इन्टरनेट सेवा प्रदायक संघ नेपालका सिईओ सुवास खड्का लगायत  दूरसञ्चार सेवा प्रदायकहरूको प्रतिनिधि, नेपाल ईन्जिनियर्स एशोसियसनका प्रतिनिधि तथा प्राधिकरणमा कार्यरत कर्मचारीहरूको उपस्थिति रहेको थियो ।     

नेपाल दूरसञ्चार प्राधिकरण स्थापनामा विशेष भूमिका खेलेका स्व. पाण्डेले २०५४ फागुन ११ गतेदेखि २०५९ फागुन १९ गतेसम्म प्राधिकरणको अध्यक्ष रहेका थिए ।