कीवर्डहरू -

प्रविधिका प्रचलित भ्रम: महँगो, नयाँ र ठूलो हुँदैमा सधैं राम्रो अनुभव पाइदैन

प्रविधिका प्रचलित भ्रम: महँगो, नयाँ र ठूलो हुँदैमा सधैं राम्रो अनुभव पाइदैन

प्रविधि हाम्रो दैनिक जीवनको अभिन्न हिस्सा भइसकेको छ। मोबाइल, टिभी, ल्यापटपदेखि विभिन्न ग्याजेटहरू हामीसँग गाँसिएका छन्। 

तर, यही प्रविधि उद्योगमा केही यस्ता भ्रम र अर्धसत्यहरू छन्, जसलाई कम्पनीहरूले आकर्षक मार्केटिङ लाइनमार्फत अझै जीवन्त राखेका छन्। प्रायः हामी ‘महँगो, नयाँ र ठूलोले नै राम्रो अनुभव दिन्छ’ भन्ने सोचमा अड्किन्छौं।

यी भ्रमको पछि लाग्दा उपभोक्ताले अनावश्यक खर्च मात्र गर्ने होइन, कहिलेकाहीँ गलत निर्णय पनि गर्छन्। आज हामी तपाईंले सामान्यतया मानेका केही प्रमुख प्रविधि सम्बन्धी भ्रमबारे स्पष्ट पार्ने प्रयास गर्दैछौं।

१. महँगो केबलले गुणस्तर बढाउँछ 

एचडीएमआई वा अडियो केबल हजारौँ रुपैयाँसम्मका पाइन्छन्। तर, पाँचदेखि दस डलरको गुणस्तरीय एचडीएमआई केबलले पनि सय डलरको जस्तै नतिजा दिन सक्छ।

डिजिटल सिग्नलमा महँगो–सस्तोले फरक पार्दैन। महँगो केबल, केवल टिकाउपन वा लामो दूरी (५० फिटभन्दा बढी) जस्ता विशेष अवस्थामा मात्र उपयोगी हुन्छ।

२. बढी मेगापिक्सेल = राम्रो क्यामेरा

मोबाइल कम्पनीहरूले क्यामेराको मेगापिक्सेल बढाएर प्रचार गर्छन्। तर फोटोको गुणस्तरमा सेन्सर साइज, लेन्स गुणस्तर र सफ्टवेयर नै निर्णायक हुन्छ। १२ मेगापिक्सेलको राम्रो सेन्सर भएको क्यामेराले पनि ६४ मेगापिक्सेलभन्दा उत्कृष्ट फोटो खिच्न सक्छ।

३. ठूलो टिभी = राम्रो दृश्य अनुभव

‘जति ठूलो, उति राम्रो’ भन्ने सोच भ्रम मात्र हो। ठूलो स्क्रिन भए पनि बस्ने दूरी, रिजोल्युसन र प्यानल प्रविधि (OLED, QLED आदि) मिलेन भने अनुभव बिग्रिन्छ। सही अनुपात नमिल्दा दृश्य स्पष्ट नदेखिन सक्छ । 

४. हरेक डिभाइसलाई एन्टिभाइरस अनिवार्य

विन्डोज, म्याक वा लिन्क्समा अहिले बलियो बिल्ट-इन सुरक्षा प्रणाली हुन्छ। सामान्य प्रयोगकर्ताका लागि छुट्टै महँगो एन्टिभाइरस आवश्यक छैन।

तर बच्चाहरू प्रयोग गर्ने डिभाइस, प्रविधि ज्ञान कम हुने प्रयोगकर्ता वा ठूला कम्पनीका लागि चाहिँ एन्टिभाइरस उपयोगी हुन सक्छ। 

५. नयाँ प्रविधि सधैं उत्कृष्ट हुन्छ

नयाँ ग्याजेट आउनासाथ पुरानो व्यर्थ हुन्छ भन्ने सोच गलत हो। अघिल्लो वर्षको फ्ल्यागशिप फोन अहिलेको मिडरेन्जभन्दा अझै राम्रो हुन सक्छ। पुरानो तर भरपर्दो मोडेल डिस्काउन्टमा किन्नु धेरै जसो स्मार्ट छनोट हुन्छ।

६. महँगो गेमिङ पीसीले ‘प्रो’ बनाउन सक्छ

पाँच हजार डलरको सेटअपले तपाई गेमिङमा राम्रो भइहाल्ने होइन । महँगो हार्डवेयरले ग्राफिक्स सुधार्न सक्छ, खेललाई रूपान्तरण गर्दैन् ।

गेमिङमा स्थिर फ्रेमरेट, कम लेटेन्सी भएको मोनिटर र राम्रो इन्टरनेट कनेक्सन अझ महत्त्वपूर्ण हुन्छ । त्यसैले यी काममा पैसा खर्च गर्न सक्नुहुन्छ । महँगो हार्डवेयरले खेल राम्रो बनाउने होइन, त्यसका लागि सीप पनि उति नै आवश्यक छ । 

७. एक्सटेन्डेड वारन्टी सधैं फाइदाजनक हुन्छ

ग्याजेट कतिबेला कहाँ बिग्रिन्छ थाहा हुँदैन। प्रायः उपकरणमा निर्माण कम्पनीकै वारन्टी हुन्छ, तर यसले सबै समस्या कभर गर्दैन।

एक्सटेन्डेड वारन्टी उपयोगी त हुन सक्छ, तर हरेक अवस्थामा फाइदाजनक हुन्छ भन्ने ग्यारेन्टी हुँदैन।