कीवर्डहरू -

प्रधानमन्त्रीले खोलिन् नयाँ सामाजिक सञ्जाल अकाउन्ट, जीमेल प्रयोगले साइबर सुरक्षामा प्रश्न

प्रधानमन्त्रीले खोलिन् नयाँ सामाजिक सञ्जाल अकाउन्ट, जीमेल प्रयोगले साइबर सुरक्षामा प्रश्न

प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो आधिकारिक सामाजिक सञ्जाल खाता सञ्चालनमा ल्याएकी छन्। उनले आइतबारदेखि फेसबुक, एक्स (ट्विटर) र इन्स्टाग्राममा आफ्नो नाममा नयाँ ‘अफिसियल’ खाता खोलेकी हुन्।

प्रधानमन्त्रीको सचिवालयका अनुसार, सामाजिक सञ्जालमार्फत जनतासँग प्रत्यक्ष संवाद र जानकारी आदानप्रदान गर्नका लागि यी खाता सञ्चालनमा ल्याइएका हुन्।

सामान्यतया प्रधानमन्त्री पदबाट बिदा हुँदै गर्दा भावी प्रधानमन्त्रीलाई सामाजिक सञ्जालहरूको युजरनेम र पासवर्ड पनि हस्तान्तरण गर्नुपर्छ । किनकि त्यो सरकारको आधिकारिक हुन्छ ।

तर सुशीला कार्कीले भने नयाँ सामाजिक सञ्जाल अकाउन्ट सञ्चालनमा ल्याएकी छन् । आईतबार यस विषयमा प्रधानमन्त्री कार्यालयमा छलफल भएको थियो । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता रबिलाल शर्माका अनुसार पूरानै अकाउन्ट सञ्चालनमा ल्याउने वा नयाँ बनाउने भन्ने विषयमा चर्चा भएको थियो । 

छलफल पश्चात नयाँ अकाउन्ट सञ्चालनमा ल्याइएको उनले बताए । प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनालले पनि पूरानो अकाउन्ट प्रयोग गर्दा पहिलेका गतिविधिहरू देखिने भएकाले नयाँ नै अकाउन्ट प्रयोग गर्न सुझाएका थिए । 

निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले पनि सबै आधिकारिक सरकारी आईडिया हस्तान्तरण गरेको छैन् । आईतबारसम्म एक्स मात्रै हस्तान्तरण गरिएको बताइएको छ । फेसबुक र इन्स्टाग्राम अझै हस्तान्तरण भएको छैन् । 

साइबर सुरक्षामा प्रश्न

प्रधानमन्त्रीले जीमेल प्रयोग गरेर सामाजिक सञ्जालमा आफ्नो आधिकारिक अकाउन्ट बनाएपछि साइबर सुरक्षामा काम गर्नेहरूले चासो व्यक्त गरेका छन् ।  

देशको कार्यकारी प्रमुखले अकाउन्ट बनाउन जीमेल प्रयोग गर्नु साइबर सुरक्षाको दृष्टिकोणले असुरक्षित र  उपयुक्त नभएको विज्ञहरूको भनाइ छ ।  

साइबर सुरक्षा विज्ञ तथा कम्प्युटर एशोसिएसन नेपाल (क्यान महासंघ) का वरिष्ठ उपाध्यक्ष चिरञ्जीवी अधिकारीका अनुसार सामाजिक सञ्जालमार्फत पारदर्शिता राम्रो पहल भएपनि सरकारले जीमेल प्रयोग बन्द गरी @.gov.np जस्ता डोमेन-आधारित इमेलमा स्थान्तरण गर्नुपर्ने बताए । यसले सुरक्षा र विश्वसनीयता दुवै बढाउने उनको भनाइ छ । 

सरकारको आधिकारिक इमेल प्रणाली .gov.np इमेलको सट्टा सार्वजनिक जीमेलबाट देशको प्रधानमन्त्रीले सामाजिक सञ्जाल अकाउन्ट खोल्नु हास्यास्पद भएको आईटी विज्ञहरूले टिप्पणी गरेका छन् । 

प्रधानमन्त्रीका आधिकारिक अकाउन्ट 

एक्स - @pmsushilakarki
फेसबुक - PM Sushila Karki 
इन्स्टाग्राम - pm.sushila.karki 

null