यातायात व्यवस्था विभागमा आगजनी, तोडफोड भएपछि ड्राइभिङ लाइसेन्स छपाइ, वितरण लगायतका काम बन्द भएका छन् ।
विभागको संरचनामा तोडफोड, आगजानी तथा चोरी लुटपाटबाट इलेक्ट्रोनिकउपकरण, छपाइ मेशिन तथा सर्भरमा क्षति पुग्न गई सवारी चालक अनुमतिपत्र तथा विद्युतीय सवारी साधन दर्ता (eDEVRS) सम्बन्धी सेवा अवरुद्ध भएको हो ।
अब अर्को सुचना नभएसम्मको लागि सवारी चालक अनुमतिपत्र छपाइ तथा वितरण लगायतका सुचना प्रविधिसम्बन्धी सम्पूर्ण प्रणाली बन्द रहने छन् ।
लाइसेन्स र इम्बोस्ड नम्बर प्लेट खरानी
भदौ २३ र २४ गते आगजनी हुँदा लाखौं ड्राइभिङ लाइसेन्स र इम्बोस्ड नम्बर प्लेट जलेर खरानी भएका छन् । विभागमा प्रिन्ट भएका करिब १ लाख ड्राइभिङ लाइसेन्स र ४ लाख बढी प्रिन्ट गर्न बाँकी रहेका कार्ड थिए । ती सबै जलेर धवस्त भएका छन् ।
यस्तै १५-२० लाख इम्बोस्ड नम्बर प्लेट पनि जलेर खरानी भएका छन् । प्रदर्शनकारीले विभागबाट ल्यापटप, डेक्स्टप, ग्यास, लाइसेन्स पनि चोरी गरेका छन् ।
विभागमै रहेको डेटा सर्भरमा पनि आगो लगाइएको छ । सर्भरहरू जलेर नस्ट भएका छन् । विभागले ब्याकअपमा सिंहदरबारमा रहेको डेटा सेन्टर प्रयोग गरेको थियो । ब्याकअप डेटा सेन्टर भने सुरक्षित रहेको छ । डेटाको ब्याकअप ल्याएर सेवा सञ्चालन गर्न विभागलाई समय लाग्ने छ ।
ड्राइभिङ लाइन्सेस प्रिन्टिङ मेसिनमा आगजनी नभएपनि तोडफोड भएको छ । त्यसबाट हार्ड डिस्क लगायत अन्य पार्टपुर्जा झिकिएको छ । अब त्यसलाई सञ्चालनमा ल्याउन पनि केही समय लाग्ने छ ।