कीवर्डहरू -

डिजिटल कारोबार गर्दा सावधानी अपनाउन राष्ट्र बैंकको आग्रह

डिजिटल कारोबार गर्दा सावधानी अपनाउन राष्ट्र बैंकको आग्रह

काठमाडौं । डिजिटल माध्यमबाट हुने वित्तीय कारोबार बढ्दै गएसँगै नेपाल राष्ट्र बैंकले मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ तथा डिजिटल वालेट प्रयोग गर्दा विशेष सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ ।

बैंक तथा वित्तीय सेवा डिजिटल माध्यममा विस्तार भइरहेका बेला कारोबारलाई सहज र छिटो बनाउनुका साथै सुरक्षालाई पनि उत्तिकै प्राथमिकता दिनुपर्ने राष्ट्र बैंकले जनाएको हो ।

डिजिटल वित्तीय सेवाको प्रयोगले बैंक तथा वित्तीय संस्थामा लामो समय लाइन बस्नुपर्ने बाध्यता घटाउनुका साथै भौतिक रूपमा उपस्थित नभई विभिन्न वित्तीय कारोबार गर्न सकिने सुविधा दिएको छ ।

मोबाइल तथा इन्टरनेट बैंकिङ र डिजिटल वालेटमार्फत रकम स्थानान्तरण, बिल भुक्तानीलगायतका काम सहज रूपमा गर्न सकिन्छ । तर, डिजिटल कारोबारमा सानो असावधानीले रकम गलत व्यक्ति वा खातामा पुग्न सक्ने भएकाले कारोबार गर्नुअघि आवश्यक विवरण अनिवार्य रूपमा रुजु गर्न राष्ट्र बैंकले सुझाव दिएको छ ।

रकम पठाउनुअघि विवरण यकिन गर्न आग्रह
रकम स्थानान्तरण गर्नुअघि प्राप्तकर्ताको बैंक तथा वित्तीय संस्थाको नाम, खातावालाको नाम, खाता नम्बर, मोबाइल नम्बर र कारोबारको प्रयोजन लगायतका विवरण राम्रोसँग जाँच गर्न राष्ट्र बैंकले आग्रह गरेको छ ।

विशेष गरी हतारमा कारोबार गर्दा खाता नम्बर वा अन्य विवरण गलत प्रविष्ट हुन सक्ने भएकाले रकम पठाउनुअघि प्राप्तकर्ताको विवरण पुन: जाँच गर्नुपर्नेमा राष्ट्र बैंकले जोड दिएको छ ।

गल्ती वा शंका लागे तत्काल जानकारी दिनुपर्ने
डिजिटल कारोबारका क्रममा कुनै गल्ती भएको वा अनधिकृत कारोबारको आशंका लागेमा ढिला नगरी सम्बन्धित बैंक, वित्तीय संस्था वा डिजिटल वित्तीय सेवा प्रदायकलाई तत्काल जानकारी गराउन राष्ट्र बैंकले आग्रह गरेको छ ।

समयमै जानकारी गराउँदा आवश्यक सुरक्षा तथा रोकथामका उपाय अपनाउन सहज हुने भएकाले शंकास्पद कारोबारलाई बेवास्ता नगर्न पनि राष्ट्र बैंकले सचेत गराएको छ ।

पासवर्ड, पिन र ओटीपी कसैलाई नदिन आग्रह
राष्ट्र बैंकले डिजिटल वित्तीय सेवाको प्रयोग गर्दा पासवर्ड, पिन, ओटीपी (One-Time Password) लगायतका गोप्य विवरण सुरक्षित राख्न विशेष आग्रह गरेको छ । यस्ता संवेदनशील विवरण कुनै पनि व्यक्ति, संस्था वा सेवा प्रदायकको नाममा माग गरिए पनि अरूलाई उपलब्ध गराउन नहुने राष्ट्र बैंकको सुझाव छ ।

डिजिटल वित्तीय कारोबारको विस्तारसँगै सुविधा र पहुँच बढेपनि प्रयोगकर्ताको सावधानी नै वित्तीय सुरक्षाको महत्वपूर्ण आधार भएकाले कारोबार गर्दा हरेक विवरण यकिन गरी मात्र अघि बढ्न राष्ट्र बैंकले सर्वसाधारणलाई आग्रह गरेको छ ।