कीवर्डहरू -

सरकारले भेन्डरबाट खरिद गरेका सफ्टवेयरहरूको सोर्सकोड माग्ने, आफै सेवा दिने गरी परिमार्जन गर्ने

सरकारले भेन्डरबाट खरिद गरेका सफ्टवेयरहरूको सोर्सकोड माग्ने, आफै सेवा दिने गरी परिमार्जन गर्ने

सरकारले भेन्डरबाट खरिद गरेका सफ्टवेयरहरूको सोर्सकोड मागेर आफै सेवा दिने भएको छ । असोज ७ गते बसेको सचिव बैठकले खरिद गरेका सफ्टवेयरको सोर्स कोड प्राप्त गरी आफ्नै कर्मचारीबाट सेवा दिने व्यवस्था गर्ने निर्णय गरेको हो । 

बैठकले सबै मन्त्रालय/विभाग/कार्यालयहरुले खरिद गरेका सफ्टवेयरको सोर्स कोड प्राप्त गरी आफ्नै कर्मचारीबाट सेवा दिने गरी सफ्टवेयरलाई परिमार्जन/निर्माण गर्ने र सफ्टवेयरको एकीकृत गर्ने कार्य गर्न निर्णय गरेको छ । 

यस कार्यका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आवश्यक समन्वय गर्नेछ । प्रविधिको उपयोग हुने भएकाले प्राविधिक जनशक्ति थप गर्ने गरी एक महिनाभित्र संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्ने निर्णय समेत सचिव बैठकले गरेको छ ।

अहिले आफुले खरिद गरेका सफ्टवेयरहरूका सोर्स कोड नहुँदा सरकारले धेरै अवरोध खेप्नुपरेको छ र सेवा प्रवाहका लागि ठेकेदारको भर पर्नुपर्ने अवस्था छ । सरकारसँग आफुले खरिद गरेका सफ्टवेयरको सोर्सकोड नहुँदा सरकारी सूचना र तथ्यांकको सुरक्षामै प्रश्न उठ्ने गरेको छ । 

सोर्स कोड भनेको निर्देशनहरूको समूह हो, जसले प्रोग्रामरले कम्प्युटर प्रोग्रामिङ भाषाहरू प्रयोग गरेर लेखिएको हुन्छ । सोर्सकोडमा कार्य, विवरण, परिभाषा, पद्द्ति लगायत अन्य सञ्चालन प्रक्रियाको बारेमा लेखिएको हुन्छ । यसलाई डेभलपर्सले पढ्न र बुझ्न सक्ने ढाँचामा डिजाइन गरिएको हुन्छ ।