काठमाडौं । राइड सेयरिङ क्षेत्रमा राइडरले उठाउँदै आएको उचित पारिश्रमिक र प्रतिकिलोमिटर भाडादरको मागप्रति पठाओ नेपालले आफ्नो धारणा सार्वजनिक गरेको छ । कम्पनीले राइडरको श्रम, समय, लगानी तथा जोखिमअनुसार उचित आम्दानी सुनिश्चित हुनुपर्ने विषयमा आफू सकारात्मक रहेको जनाएको छ ।
पठाओका प्रबन्ध निर्देशक यशु थकालीले सरकार र राइडरबीच सहमति भएर समान न्यूनतम भाडादर निर्धारण भए कम्पनीले आफ्नो विद्यमान भाडा संरचना पुनरावलोकन तथा संशोधन गर्न तयार रहेको बताएका छन् ।
राइडरहरूले हाल प्रतिकिलोमिटर न्यूनतम २५ रुपैयाँ भाडा निर्धारण गर्नुपर्ने माग गर्दै आएका छन् । पठाओले भने आफ्नो वर्तमान भाडा प्रणाली प्रतिकिलोमिटरका आधारमा मात्र निर्धारण नहुने स्पष्ट पारेको छ ।
कम्पनीका अनुसार बेस फेयर, यात्राको दूरी र लाग्ने समयलाई आधार बनाएर भाडा निर्धारण गरिन्छ । यद्यपि, समग्र यात्राको औसत हिसाब गर्दा राइडरले प्राप्त गर्ने भाडा प्रतिकिलोमिटर करिब २५ रुपैयाँको आसपास पुग्ने कम्पनीको दाबी छ ।
कमिसन घटाएर प्लेटफर्म शुल्क
राइड सेयरिङ बजारमा प्रतिस्पर्धा बढ्दै गएपछि राइडरमाथिको आर्थिक भार कम गर्ने उद्देश्यले पठाओले आफ्नो कमिसन संरचनामा परिवर्तन गरेको जनाएको छ ।
कम्पनीले कमिसन घटाएर प्रतिराइड १२ रुपैयाँको निश्चित प्लेटफर्म शुल्क लागू गरेको छ । पठाओका अनुसार उक्त शुल्कभित्र राइडर तथा यात्रुको सुरक्षाका लागि आवश्यक बीमा सुविधा पनि समावेश गरिएको छ ।
कम्पनीले राइडरको आम्दानी तथा कल्याणलाई ध्यानमा राख्दै विभिन्न सुविधा उपलब्ध गराउँदै आएको जनाएको छ । पेट्रोल सहयोग, नि:शुल्क सर्भिसिङ, स्वास्थ्य सेवामा छुट तथा दुर्घटनासम्बन्धी भत्तालगायतका सुविधा राइडरलाई दिइरहेको पठाओको भनाइ छ ।
एकीकृत नियमनको माग
पठाओले राइड सेयरिङ क्षेत्रलाई व्यवस्थित बनाउन सरकारसँग स्पष्ट तथा एकीकृत नियमन आवश्यक रहेको बताएको छ । कम्पनीले राइड सेयरिङ सेवाका लागि न्यूनतम र अधिकतम भाडादर निर्धारण गर्ने गरी समान मापदण्ड बनाउन सरकारलाई आग्रह गरेको छ ।
कम्पनीका अनुसार सबै राइड सेयरिङ सेवा प्रदायकका लागि समान भाडादर र नियमन लागू भएमा राइडर, यात्रु तथा सेवा प्रदायकबीचको सम्बन्ध थप व्यवस्थित हुने तथा बजारमा स्वस्थ प्रतिस्पर्धा कायम गर्नसमेत सहयोग पुग्नेछ ।
राइडरको उचित आम्दानी सुनिश्चित गर्ने विषयमा कम्पनी सकारात्मक रहेको उल्लेख गर्दै पठाओले सरकारबाट स्पष्ट मापदण्ड तय भए त्यसअनुसार आफ्नो सेवा संरचना परिमार्जन गर्न तयार रहेको जनाएको छ ।
आईसीटी समाचार