कीवर्डहरू -

कञ्चनपुरको राधानदीमा जलस्तर मापन गर्ने ‘आरएलएस’ जडान

कञ्चनपुरको राधानदीमा जलस्तर मापन गर्ने ‘आरएलएस’ जडान

जिल्लाको बेदकोट नगरपालिका भएर बग्ने चौधरनदीको मुख्य सहायक राधानदीमा ‘राडार लेभल सेन्सर’ (आरएलएस) जडान गरिएको छ ।

बाढीको पूर्वसूचना प्रणालीलाई प्रभावकारी बनाउने उद्देश्यका साथ नदीमा जलस्तर मापन गर्ने आधुनिक आरएलएस प्रविधि जडान गरिएको हो ।

इन्स्टिच्युट अफ हिमालयन रिस्क रिडक्सन, डिसिए नेपाल र नेपाल राष्ट्रिय समाज कल्याण सङ्घ (एनएनएसडब्लुए), कञ्चनपुरको साझेदारीमा सञ्चालित ‘स्मार्ट’ परियोजनाअन्तर्गत उक्त प्रविधि जडान गरिएको परियोजनाका संयोजक राजकुमार सुनारले बताए ।

उनका अनुसार प्रविधि जडानमा जल तथा मौसम विज्ञान कार्यालय अत्तरिया र बेदकोट नगरपालिकाको सहकार्य रहेको छ ।

नदीमा जडान गरिएको राडार लेभल सेन्सरले नदीको जलस्तरको वास्तविक तथ्याङ्क (रियल टाइम डाटा) सङ्कलन गरी तत्काल जानकारी उपलब्ध गराउने संयोजक सुनारले जानकारी दिए । ‘यसबाट बर्खायाममा आउन सक्ने सम्भावित बाढीको पूर्वसूचना समयमा प्राप्त हुने र तल्लो तटीय क्षेत्रका नागरिकको जीउधनको सुरक्षामा महत्वपूर्ण सहयोग पुग्ने विश्वास लिइएको छ’, उनले भने ।

सेन्सर जडान भएपछि बेदकोटसँगै भीमदत्त नगरपालिका र बेलडाँडी गाउँपालिका क्षेत्रका तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने बासिन्दालाई समयमा बाढीबारे सचेत गराउन मद्दत पुग्ने संयोजक सुनारले बताए ।

‘अहिले प्रविधि जडान मात्रै गरिएको छ’, उनले भने, ‘यसलाई जल तथा मौसम विज्ञानको प्रणालीमा आबद्ध गर्ने कार्य वर्षा सुरु हुनुअगावै पूरा हुन्छ । त्यसपछि नदीको जलस्तर विभागको वेबसाइटबाट प्रत्यक्ष हेर्न सकिनेछ ।’

बेदकोट नगरपालिकाका प्रमुख भोजराज बोहराले नगरपालिकाले विपद् जोखिम न्यूनीकरणका लागि आधुनिक प्रविधिको प्रयोगलाई प्राथमिकता दिँदै आएको बताए । यस कार्यले स्थानीय समुदायलाई बाढीबाट हुनसक्ने क्षति कम गर्न र विपद् व्यवस्थापनमा सहयोग पुग्ने उनले विश्वास व्यक्त गरे । रासस