कीवर्डहरू -

साझा यातायातले सञ्चालनमा ल्यायो देशकै ठूलो क्षमताको विद्युतीय चार्जिङ डिपो

डिपोमा एक पटकमा २२ वटा बस चार्ज गर्न सकिने

साझा यातायातले सञ्चालनमा ल्यायो देशकै ठूलो क्षमताको विद्युतीय चार्जिङ डिपो

साझा यातायात सहकारी संस्था लिमिटेडले देशकै ठूलो चार्जिङ क्षमताको विद्युतिय चार्जिङ डिपो सञ्चालनमा ल्याएको छ । 

यातायातले केन्द्रीय कार्यालय परिसर पुल्चोक, ललितपुरमा मंगलबार ११ वटा विद्युतिय चार्जरसहितको डिपो सञ्चालनमा ल्याएको हो । 

उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले सो डिपोको औपचारिक उद्घाटन गरेका थिए । सोही अवसरमा संस्थाको ४० वटा विद्युतिय बसको समेत सेवा शुभारम्भ गरिएको छ । 

जिबिटी टाइपको चार्जिङ पोर्ट रहेको हरेक चार्जरको क्षमता ८८ किलोवाट आवर छ । विद्युत आपूर्तिका लागि ११०० किलोवाट (१.१ मेगावाट) को ४ वटा ट्रान्सफर्मर जडान गरिएको छ । डिपोमा एक पटकमा २२ वटा बस चार्ज गर्न सकिन्छ । 

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री महासेठले सार्वजनिक यातायात सेवालाई व्यवस्थित र सहज तुल्याउनका लागि देशभर नै विद्युतिय बसको सञ्चालनलाई प्राथमिकतामा राखेको बताए । 

यस्तै कार्यक्रमका अतिथि नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले शुरुवाती समयमा चार्जिङ्ग स्टेशन निर्माणका लागि स्थान अभाव रहने गरेकोमा अहिले स्टेशन निर्माणको क्रमले तीव्रता पाएको र साझाले समेत चार्जिङ्ग स्टेशन निर्माण गरेकाले खुशी लागेको बताए । 

साझा यातायातका अध्यक्ष कनकमणी दीक्षितले चार्जिङ स्टेशनको अभावमा संस्थाका विद्युतिय बस पूर्णरुपमा सञ्चालनमा आउन नसकेकोमा अब भने चार्जिङ्गको समस्या नरहने र बस सेवालाई निरन्तरता दिन सकिने विश्वास समेत व्यक्त गरे । 

यसैगरी साझाले डिजल बसलाई विद्युतिय बसमा रुपान्तरण गर्न सफल भएको बताउँदै यो सफलताबाट यातायात सञ्चालन तथा उत्पादन बारे कार्यशाला आयोजना गरिन लागेको पनि उनले बताए । 

सरकारको नीतिमा डिजल टु विद्युतिय रुपान्तरण परेको भएपनि नियमको अभावमा प्रभावकारी कार्यान्वयन हुन नसकेकाले यसमा सरकारको आवश्यक सहयोगको अपेक्षा रहेको उनको भनाइ छ । 

नेपाल सरकारबाट सार्वजनिक यातायात विद्युतिकरण गर्नका लागि प्राप्त लगानीलाई साझा यातायातले तीन भाग गरी पहिलो भागको खर्चमा ४० बस खरिद गरेको छ। यी विद्युतिय बसहरु उपत्यकाका विभिन्न रुटमा सञ्चालित रहनेछन् । 

विद्युतिय बस ८.५ मिटर लम्बाई, फ्रण्ट र व्याक एयर सस्पेशन लिथियम आइरन फस्फेट व्याट्री (१६१ किलोवाट आवर), भार बोक्ने क्षमता ४७०० किलोग्राम, २४ सिट र उठ्‌ने बस्ने गरी ५० यात्रु क्षमता, लो फ्लोर, अपाङ्गमैत्री शहरी बस छन् । सिसिटिभी तथा जिपिएस प्रविधि जडान गरिएका यी बसमा डिजिटल डिस्प्लेको समेत व्यवस्था छ ।

१२ मिटरका थप विद्युतिय बस अन्तर्राष्ट्रिय बोलपत्रद्वारा खरिद गर्न साझा यातायातले प्रक्रिया अगाडि बढाइ सकेको छ । यसको साथै विभिन्न प्रान्त जोड्ने 'प्रान्तीय सेवा' अन्तर्गत थप लामो दूरीका सुपर डिलक्स सुविधायुक्त बस खरिद गरी सञ्चालन गर्ने प्रक्रिया पनि अगाडि बढेको छ ।

यस अघि भारतमा निर्मित टाटा र अशोक लेल्याण्ड कम्पनीका ७१ डिजल बस र चीनको सिएचटीसी कम्पनीद्वारा निर्मित यी ४० बस गरी साझा यातायातको कुल संख्या १११ पुगेको छ। यी उपत्यका र उपत्यका बाहिर बाग्लुङ तथा बेलहियासम्म सञ्चालनमा रहेका छन् ।