सामसङले आफ्नो सामाजिक उत्तरदायित्त्व पहल अन्तर्गत सामसङ इनोभेसन क्याम्पस, अन्तर्गत कोडिङ र प्रोग्रामिङ कोर्सको तेस्रो ब्याच सफलतापूर्वक पूरा गरेका त्रिभुवन विश्वविद्यालय अन्तर्गत पुलचोक इन्जिनियरिङ क्याम्पसका ५६ जना विद्यार्थीहरूलाई प्रमाणपत्र वितरण गरेको छ ।
त्रिभुवन विश्वविद्यालयका कुलपति प्रा. डा. दीपक अर्याल, पुलचोक क्याम्पस प्रमुख डा. सञ्जय उप्रेती र इन्जिनियरिङ अध्ययन संस्थाका डीन प्रा. डा. सुशील बी. बज्राचार्यको उपस्थितिमा विद्यार्थीहरूलाई प्रमाणपत्र प्रदान गरिएको थियो ।
कार्यक्रममा बोल्दै सामसङ नेपालका मानवश्रोत प्रबन्धक, जयन्त मणि कायस्थले कोडिङ र प्रोग्रामिङको तेस्रो ब्याच सफलतापूर्वक पूरा भएकोमा खुसी व्यक्त गर्दै सामसङ इनोभेसन क्याम्पसले नेपाली युवाहरूलाई भविष्यमुखी सीपहरूले सशक्त बनाउँदै आएको बताए ।
त्रिभुवन विश्वविद्यालयसँगको सहकार्यमा एआई, बिग डेटा र आईओटीको तालिमलाई अझ बलियो बनाउने र विद्यार्थीहरूलाई भविष्यको रोजगारीको लागि तयार गर्न लक्ष्य राखेको उनको भनाइ छ ।
यस्तै इन्जिनियरिङ अध्ययन संस्थाका डीन, प्रा. डा. सुशील बी. बज्राचार्यले सामसङसँगको सहकार्यमा कोडिङ र प्रोग्रामिङ कोर्षमार्फत विद्यार्थीहरूको सिकाइको दायरा अझ विस्तार भएको जानकारी दिए ।
डिसेम्बर २०२२ मा त्रिभुवन विश्वविद्यालयमा सुरु भएको सामसङ इनोभेसन क्याम्पसले नेपाली युवाहरूलाई एआई, बिग डेटा, आईओटी कोडिङ र प्रोग्रामिङमा तालिम दिदै आएको छ ।
यस कार्यक्रममा एल्गोरिदम, डाटा स्ट्रक्चर र प्रोग्रामिङको ज्ञानको आधारमा विद्यार्थीहरूको छनौट गरिन्छ ।
अब नयाँ ब्याचको एआई र बिग डाटाको तालिम सुरु हुँदैछ, विद्यार्थीहरू भविष्यका लागि आवश्यक सीप प्रदान गर्नेछ । यस कार्यक्रममा प्राविधिक सीपको सफ्ट स्किलको समेत तालिम दिइन्छ ।