कीवर्डहरू -

सामसङ इन्टरनेट ब्राउजर विन्डोजमा उपलब्ध

सामसङ इन्टरनेट ब्राउजर विन्डोजमा उपलब्ध

सामसङले विन्डोजका लागि आफ्नो वेब ब्राउजर ‘सामसङ इन्टरनेट’ सार्वजनिक गरेको छ । कम्पनीले यसलाई केवल ब्राउजर नभई एकीकृत एआई प्लेटफर्मका रूपमा वर्णन गरेको छ । 

यसले स्पष्ट गर्छ — सामसङको यो नयाँ पहल एआई (कृत्रिम बुद्धिमत्ता) मा केन्द्रित छ । विन्डोजका लागि उपलब्ध नयाँ संस्करणमा प्रयोगकर्ताले मोबाइल र पीसीबीच बुकमार्क, ब्राउजिङ इतिहास, र अटोफिल डेटा सहजै सिङ्क गर्न सक्नेछन् । 

साथै, यसमा ट्र्याकर ब्लकिङ, प्राइभेसी ड्यासबोर्ड लगायतका सुरक्षा र गोपनीयतामुखी सुविधा पनि प्रदान गरिएको छ । तर विशेषज्ञहरूका अनुसार, यी सामान्य सुविधाहरू मात्रै सामसङको मुख्य उद्देश्य होइनन् ।

कम्पनीले यस कदममार्फत तीव्र गतिमा विस्तार भइरहेको एआई ब्राउजर बजारमा आफ्नो स्थान सुदृढ गर्न खोजेको देखिन्छ । सामसङले सन् २०२४ मा पनि छोटो समयका लागि विन्डोज संस्करण जारी गरेको थियो, तर पछि माइक्रोसफ्ट स्टोरबाट हटाएको थियो ।

हालका दिनहरूमा एआई ब्राउजरहरूको लोकप्रियता बढ्दै गएको छ । सामसङको यो कदम ओपनएआईको च्याटजीपीटी एटलस, माइक्रोसफ्टको एज कोपाइलट मोड, ओपेराको नियोन र परप्लेक्सिटीको कोनेट ब्राउजर जस्ता एआई ब्राउजरहरूको आगमनपछि आएको हो ।

सामसङका अनुसार, यसको नयाँ ब्राउजरले कम्पनीको ‘Ambient AI’ दृष्टिकोणलाई अघि बढाउनेछ — जसले प्रयोगकर्ताको आवश्यकता पहिचान गरी व्यक्तिगत र बुद्धिमान सहयोग प्रदान गर्नेछ ।

हाल सामसङ इन्टरनेटको डेस्कटप संस्करण विन्डोज ११ र विन्डोज १० (भर्सन 1809 वा माथि) का प्रयोगकर्ताका लागि बेटा संस्करणमा उपलब्ध छ। इच्छुक प्रयोगकर्ताले सामसङको प्रडक्ट पेजमा गई साइन अप गर्न सक्नेछन् ।