कीवर्डहरू -

ग्यालेक्सी स्मार्टफोनमा ‘भाइब कोडिङ’ ल्याउने सम्भावना अध्ययन गर्दै सामसङ

ग्यालेक्सी स्मार्टफोनमा ‘भाइब कोडिङ’ ल्याउने सम्भावना अध्ययन गर्दै सामसङ

सामसङले आफ्ना ग्यालेक्सी स्मार्टफोनमा कृत्रिम बुद्धिमत्ता (एआई) आधारित नयाँ अनुभव थप्ने योजनाअन्तर्गत ‘भाइब कोडिङ’ जस्ता सुविधा ल्याउने सम्भावनाबारे अध्ययन गरिरहेको जनाएको छ।

प्रविधि सम्बन्धी मिडिया टेकराडर सँगको कुराकानीमा सामसङका अधिकारीहरूले भविष्यमा ग्यालेक्सी स्मार्टफोन प्रयोगकर्तालाई एआईको सहयोगमा आफ्नै आवश्यकता अनुसार एप तथा प्रयोगकर्ता अनुभव (यूएक्स) अनुकूल बनाउन सक्ने व्यवस्था विकास गर्नेबारे विचार भइरहेको बताएका हुन्।

सामसङका कार्यकारी वू-जुन चोईका अनुसार कम्पनीले स्मार्टफोन प्रयोग अनुभवलाई नयाँ तरिकाले अनुकूल बनाउन सकिने सम्भावनाबारे अध्ययन गरिरहेको छ। 

उनका अनुसार भविष्यमा प्रयोगकर्ताले आफ्ना मनपर्ने एपहरू परिमार्जन गर्न वा एआईको सहयोगमा आफ्नै आवश्यकता अनुसार नयाँ सुविधा सिर्जना गर्न सक्ने वातावरण बन्न सक्छ।

यद्यपि यस्तो सुविधा कसरी कार्यान्वयन गरिने भन्ने विषयमा अहिले स्पष्ट विवरण सार्वजनिक गरिएको छैन। तर एआईको प्रयोग बढ्दै जाँदा प्रयोगकर्तालाई स्मार्टफोन अनुभव आफैं अनुकूल बनाउन सक्ने नयाँ सम्भावनाहरू खुल्ने अपेक्षा गरिएको छ।

‘भाइब कोडिङ’ पछिल्लो समय प्रविधि क्षेत्रमा लोकप्रिय बन्दै गएको अवधारणा हो। यसले प्रोग्रामिङ ज्ञान कम भएका प्रयोगकर्तालाई पनि एआईको सहयोगमा साना एप, उपकरण वा डिजिटल सुविधा तयार गर्न सहयोग पुर्‍याउँछ।

यसको उदाहरणका रूपमा नथिङ टेक्नोलोजीले सुरु गरेको ‘Essential Apps’ परियोजनालाई लिइन्छ, जसले एआई मोडेल प्रयोग गरेर प्रयोगकर्तालाई होमस्क्रिनमा एपजस्तै काम गर्ने विजेटहरू सिर्जना गर्न अनुमति दिन्छ।

यसैबीच विकासकर्ताहरूका लागि पनि एआई उपकरणहरूको प्रयोग बढ्दो क्रममा रहेको छ। गूगलले समेत एन्ड्रोइड एप विकासका क्रममा सहयोगका लागि उपयुक्त एआई मोडेलहरू प्रयोग गर्न सिफारिस गर्न थालेको छ, जसले विकास प्रक्रियालाई अझ छिटो र सहज बनाउने अपेक्षा गरिएको छ।