सामसङले आफ्ना आगामी फ्ल्यागशिप स्मार्टफोनहरूमा परप्लेक्सिटी एआईलाई समावेश गर्ने घोषणा गरेको छ। ग्यालेक्सी एआई प्रणालीभित्र बहु–एआई एजेन्टलाई समर्थन गर्ने रणनीतिअनुसार परप्लेक्सिटी को एआई एजेन्टलाई समेट्न लागिएको हो।
कम्पनीका अनुसार परप्लेक्सिटी को एआई एजेन्टले सामसङ नोट्स, क्लक, ग्यालरी, रिमाइन्डर र क्यालेन्डर जस्ता बिल्ट–इन एपहरूसँग काम गर्नेछ।
साथै केही तेस्रो पक्ष एपहरूले पनि यसलाई समर्थन गर्ने जनाइएको छ, यद्यपि कुन–कुन एपहरूमा समर्थन हुनेछ भन्नेबारे अझै खुलाइएको छैन। यो घोषणा सामसङ को बहुप्रतिक्षित ग्यालेक्सी अनप्याक्ड कार्यक्रम हुनुभन्दा केही दिनअघि आएको हो, जहाँ यस एकीकरण र नयाँ संस्करणको Bixby सम्बन्धी थप विवरण सार्वजनिक हुने अपेक्षा गरिएको छ।
हालसम्म सार्वजनिक जानकारीअनुसार परप्लेक्सिटी एजेन्टलाई ‘Hey Plex’ भन्ने वेक फ्रेजबाट सक्रिय गर्न सकिनेछ (यसलाई स्ट्रिमिङ सेवा प्लेक्ससँग भ्रमित नगर्न कम्पनीले स्पष्ट पारेको छ)। साथै, फोनका क्विक–एक्सेस फिजिकल कन्ट्रोलमार्फत पनि एजेन्ट सुरु गर्न सकिने व्यवस्था हुनेछ।
सामसङ मोबाइल एक्सपेरियन्स विजनेसका अध्यक्ष, सीओओ तथा आरएन्डडी प्रमुख वोन–जुन चोईका अनुसार ग्यालेक्सी एआई विस्तारको उद्देश्य प्रयोगकर्तालाई कार्य सम्पादनमा बढी विकल्प र लचकता प्रदान गर्नु हो। उनका अनुसार ग्यालेक्सी एआईले विभिन्न प्रकारका एआईलाई एउटै स्वाभाविक र एकीकृत अनुभवमा संयोजन गर्ने ‘अर्केस्ट्रेटर’ को रूपमा काम गर्छ।
यसअघि पनि सामसङले परप्लेक्सिटीसँग साझेदारी गर्दै कम्पनीको एआई सर्च इन्जिनलाई सामसङ टिभीहरूमा समावेश गर्ने घोषणा गरेको थियो।
यद्यपि परप्लेक्सिटी पछिल्लो समय सामग्री स्क्र्यापिङ र कपीराइट उल्लंघनको आरोपमा विवादमा तानिएको छ। सेप्टेम्बरमा Merriam-Webster र Encyclopaedia Britannica ले कम्पनीविरुद्ध मुद्दा दायर गरेका थिए।
नयाँ साझेदारीसँगै सामसङ ले आफ्ना डिभाइसहरूमा बहु–एआई इकोसिस्टम निर्माण गर्ने संकेत दिएको छ, जसले प्रयोगकर्तालाई एकै प्लेटफर्ममा विभिन्न एआई सेवा उपयोग गर्ने सुविधा दिने अपेक्षा गरिएको छ।
आईसीटी समाचार