प्रोफेसनल एक्सिलेन्स आइसिटी अवार्ड २०२४ वैज्ञानिक डा. विशेष खनालले प्राप्त गरेका छन् । शुक्रबार ह्यात रिजेन्सी काठमाडौंमा आयोजना भएको इन्ड्राइभ आइसिटी अवार्ड २०२४ सपोर्टेड बाई एनसेल फाउन्डेसन इन एशोशिएसन विथ नेपालपे क्युआर, जेनस एण्ड जुमको ग्राण्ड फिनाले कार्यक्रममा खनालले प्रोफेसनल एक्सीलेन्स आइसिटी अवार्ड पाएका हुन् ।
आइसिटी अवार्डमा प्रोफेसनल एक्सीलेन्स अवार्ड आइसिटी क्षेत्रसँग सम्बन्धित रहेर कम्तिमा ५ वर्षको अनुभवसँगै यस क्षेत्रमा पुर्याएको महत्त्वपूर्ण योगदान र विशेष कामको आधारमा यो अवार्ड प्रदान गरिन्छ ।
यो वर्ष हेल्थकेयर एआईमा राम्रो काम गर्दै आएका खनालले सो अवार्ड पाएका हुन् । एआईको क्षेत्रमा उत्कृष्ट काम गर्दै आएको संस्था नेपाल अप्लाइड म्याथम्याटिक्स एन्ड इन्फर्मेटिक्स इन्स्टिच्युट फर रिसर्च (नामी) का सह-संस्थापक हुन, वैज्ञानिक डा. विशेष खनाल ।
वि.सं २०६१ सालको आईओई टपर खनालले कम्प्युटर साइन्स र मेडिकल इमेजिङमा फ्रान्सबाट विद्यावारिधि गरेका छन् ।
लन्डनमा रिसर्चरको जागिर छोडेर सन् २०१९ मा नेपाल फर्किएका उनको एआई, मेसिन लर्निङ, कम्प्युटर भिजन, मेडिकल इमेजिङ, नेचुरल ल्याङ्वेज प्रोसेसिङ, हेल्थकेयर एआईमा विशेष दख्खल छ ।
उनले ड्युक, आरटीआई र बार्सिलोना विश्वविद्यालयका पीएचडी विद्यार्थीलाई नेपालबाटै मेन्टरिङ समेत गर्दै आएका छन् ।
नामीमार्फत नेपाली प्रतिभालाई विश्वको वैज्ञानिक समुदायसँग जोड्ने काम गरिरहेका उनले नेपालमा पनि एआईलाई स्वास्थ्य सेवासँग जोड्ने प्रयास गरिरहेका छन् ।
विश्वका चर्चित जर्नलमा एआई सम्बन्धि आफ्ना अनुसन्धान रिपोर्ट प्रकाशित गर्न सफल उनी पछिल्लो समय नामीलाई विश्वकै उत्कृष्ट एआई केन्द्रको रूपमा विकास गर्ने गरी काम गरिरहेका छन् । दियो एआईमार्फत पनि एआई प्रडक्टको विकास र विस्तारमा खनालको भूमिका रहदै आएको छ ।