कीवर्डहरू -

ह्वाट्सएपको गोपनीयतामाथि गम्भीर प्रश्न, अमेरिकी मुद्दाले बढायो बहस

ह्वाट्सएपको गोपनीयतामाथि गम्भीर प्रश्न, अमेरिकी मुद्दाले बढायो बहस

आजको डिजिटल युगमा अनलाइन गोपनीयता एक गम्भीर र बहसको विषय बनेको छ। हामी दैनिक प्रयोग गर्ने एपहरूमा हाम्रो जीवनशैलीसँग सम्बन्धित धेरै व्यक्तिगत जानकारी संकलन हुन्छ—हामी कहाँ जान्छौँ, कुन खाना मन पर्छ, कुन ब्रान्डका कपडा वा झोला किन्न रुचाउँछौँ। यी विवरणहरू प्रयोगकर्ताले प्रयोग गर्ने एपहरूसँग सुरक्षित (वा असुरक्षित) रूपमा रहन्छन्।

यिनै डाटाका आधारमा प्रयोगकर्तालाई लक्षित विज्ञापन (targeted ads) देखाइन्छ, जसबाट कम्पनीहरूले आम्दानी गर्छन्। यो अभ्यास आजको डिजिटल अर्थतन्त्रमा सामान्य मानिन्छ। तर जब कुरा व्यक्तिगत संवाद अर्थात् च्याटको निगरानीसम्म पुग्छ, त्यतिबेला गोपनीयतामाथि गम्भीर जोखिम उत्पन्न हुन्छ।

संसारकै सबैभन्दा बढी प्रयोग हुने मेसेजिङ एपहरूमध्ये एक मेटा कम्पनीको ह्वाट्सएप हाल गोपनीयता विवादको केन्द्रमा परेको छ। अमेरिकामा दायर एक मुद्दापछि ह्वाट्सएपको डाटा सुरक्षा दाबीमाथि प्रश्न उठेका छन्, जसले सम्पूर्ण टेक उद्योगमा चर्चा र आलोचना निम्त्याएको छ।

आरोप लगाउने पक्षको दाबी छ—ह्वाट्सएपले सधैंजसो एन्ड–टु–एन्ड इन्क्रिप्सनको कुरा गरे पनि व्यवहारमा प्रयोगकर्ताका मेसेजहरू पूर्ण रूपमा सुरक्षित नहुन सक्छन्। यही विषयमा टेस्ला र स्पेसएक्सका संस्थापक एलन मस्कले सामाजिक सञ्जाल ‘एक्स’मा टिप्पणी गर्दै भनेका छन्, “ह्वाट्सएप सुरक्षित छैन। यहाँसम्म कि सिग्नल पनि शंकाको घेरामा छ।”

उनले प्रयोगकर्ताहरूलाई वैकल्पिक रूपमा एक्स च्याट प्रयोग गर्न सुझाव दिएका छन्। मस्क लामो समयदेखि मेटाको डाटा ह्यान्डलिङ नीतिका आलोचक मानिन्छन्।

अदालतमा के आरोप लगाइयो?

सान फ्रान्सिस्कोको एक अदालतमा दायर मुद्दामा मेटाले गर्ने दाबी—“ह्वाट्सएपका च्याट कसैले पढ्न सक्दैन”—गलत रहेको उल्लेख गरिएको छ। मुद्दामा ह्वाट्सएपले प्रयोगकर्ताका निजी संवादहरू स्टोर, विश्लेषण र आन्तरिक रूपमा एक्सेस गर्न सक्ने अवस्था रहेको दाबी गरिएको छ।

ब्लूमबर्गको रिपोर्टअनुसार, केही ह्विसलब्लोअरहरूले मेटाका कर्मचारीहरूलाई आन्तरिक प्रणालीमार्फत प्रयोगकर्ताका मेसेज हेर्न सक्ने पहुँच रहेको दाबी गरेका छन्।

मेटाको आधिकारिक धारणा

मेटाले २०१४ मा ह्वाट्सएप अधिग्रहण गरेपछि एन्ड–टु–एन्ड इन्क्रिप्सनलाई यसको मुख्य विशेषताका रूपमा प्रस्तुत गर्दै आएको छ। कम्पनीका अनुसार, यस प्रविधिमा मेसेज पठाउने र प्राप्त गर्ने बाहेक अरू कसैले—यहाँसम्म कि कम्पनीले पनि—मेसेज पढ्न सक्दैन।

ह्वाट्सएपका प्रमुख विल क्याथकार्टले हालैका आरोपहरूलाई “पूर्ण रूपमा गलत र कल्पनामा आधारित” भनेका छन्। कम्पनीको दाबी छ कि एन्ड–टु–एन्ड इन्क्रिप्सन डिफल्ट रूपमा सक्रिय हुन्छ र प्रयोगकर्तालाई एपमै स्पष्ट जानकारी दिइएको हुन्छ।

विगतदेखि नै दोहोरिँदै आएका विवादहरू

ह्वाट्सएपमाथि गोपनीयता उल्लङ्घनका आरोप नयाँ होइनन्—

२०१६ डाटा सेयरिङ विवाद: फेसबुकले अधिग्रहण गरेपछि ह्वाट्सएपले फोन नम्बर र मेटाडाटा फेसबुकसँग सेयर गर्ने नीति ल्यायो।

२०१९ पेगासस स्पाइवेयर प्रकरण: पत्रकार र मानवअधिकार अभियन्ताहरूको ह्वाट्सएप ह्याक भएको खुलासा।

२०२० गुगलसँग डाटा सेयरिङ आरोप: एन्टि–ट्रस्ट मुद्दामा गोपनीयता सम्बन्धी प्रश्न।

२०२१ गोपनीयता नीति अपडेट: बिजनेस च्याटको डाटा मेटासँग सेयर हुने घोषणाले विश्वव्यापी डर सिर्जना गर्‍यो।

ह्वाट्सएपले आफू पूर्ण रूपमा सुरक्षित रहेको दाबी गरिरहे पनि निरन्तर उठिरहेका कानुनी र प्राविधिक प्रश्नहरूले प्रयोगकर्तालाई सजग बनाइरहेका छन्।

डिजिटल युगमा “निःशुल्क सेवा” को मूल्य प्रायः डाटा नै हुन्छ। त्यसैले प्रयोगकर्ताले कुनै पनि प्लेटफर्म प्रयोग गर्दा गोपनीयता नीति बुझ्नु, ब्याकअप सेटिङ, क्लाउड इन्क्रिप्सन र वैकल्पिक सुरक्षित माध्यमबारे सचेत रहनु आजको आवश्यकता बनेको छ।