शिक्वल फाउन्डेसन र यूएन वुमन नेपालको सहकार्यमा आयोजित आइडियाथन २०२५ सम्पन्न भएको छ । यो कार्यक्रम नेपालकै सबैभन्दा ठूलो महिलामात्र सहभागी हुने ह्याकथनको प्रि-इभेन्ट हो ।
गर्ल्स इन आईसीटी दिवसको अवसरमा आयोजना गरिएको यस कार्यक्रममा बेतलबी हेरचाह कार्य: पहिचान गर्नुहोस्, घटाउनुहोस्, पुनर्वितरण गर्नुहोस् भन्ने थीममा रहेर नेपालभरिका युवा महिलाहरू सहकार्य, नवप्रवर्तन र सह-सृजनामा जुटेका थिए ।
एकदिने यो कार्यक्रम सेक्युरिटीपाल नेपाल, बालवाटारमा सम्पन्न भएको थियो, जसमा विभिन्न शैक्षिक तथा पेशागत पृष्ठभूमिका करिब ६० जना सहभागी र १२ जना प्रशिक्षकहरू संलग्न थिए ।
आइडियाथनलाई गैर-प्रतिस्पर्धात्मक तर निर्देशित मिनी-ह्याकथनका रूपमा डिजाइन गरिएको थियो, जहाँ अन्वेषण, सिर्जनशीलता र समावेशीता प्राथमिकतामा राखिएको थियो ।
कार्यक्रमभरि सहभागीहरूले समूह बनाएर बेतलबी हेरचाह कार्यसँग सम्बन्धित वास्तविक चुनौतीहरू पहिचान गर्दै मानव-केन्द्रित डिजाइन सिद्धान्तहरू प्रयोग गरी नवीन समाधानहरू विकास गरेका थिए ।
कार्यक्रमबारे बोल्दै शिक्वल फाउन्डेसनकी सह-प्रबन्ध निर्देशक आस्था शर्माले आइडियाथन प्रि इभेन्ट मात्र नभएर युवा महिलाहरूलाई नवप्रवर्तन र समस्या समाधानको संसारमा प्रवेश गराउने एक सशक्त प्लेटफर्म भएको बताइन् ।
कार्यक्रममा इम्प्याथी म्यापिङ, समस्या परिभाषण, टिम सहकार्य र प्रशिक्षक सत्रहरू जस्ता गतिविधिहरू गरिएको थियो ।
शिक्वल फाउन्डेसनको मुख्य कार्यक्रम — नेपालको सबैभन्दा ठूलो महिलामात्र सहभागी हुने ह्याकथन असार १२ देखि १४ गतेसम्म यूएन वुमनको साझेदारीमा आयोजना हुँदैछ ।