नेपाल प्रहरीले ६ लाख ९६ हजार पाँच सय बराबरको भन्सार राजस्व छलेर ल्याइएका स्मार्टफोनहरु नियन्त्रणमा लिएको छ।
काठमाडौँ उपत्यका बाहिरबाट आउने यात्रुवाहक सार्वजनिक सवारीसाधनले विभिन्न किसिमका सामान बिनाकागजात बिलबिजक ल्याउने गरेको भन्ने विशेष सूचनाका आधारमा प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरी टोलीले उक्त समग्री नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए।
उनले भने, “शनिबार कलङ्की–नागढुङ्गा मूल सडकखण्डमा विभिन्न सवारीसाधनलाई जाँज गर्दा भिन्दाभिन्दै सवारीसाधनले बोकी ल्याएको सामानको धनी यकिन नभएको अवस्थामा उक्त सामग्री फेला पारी नियन्त्रणमा लिइएको हो।”
बरामद गरिएका उक्त सामान त्रिभुवन विमानस्थल भन्सार कार्यालय काठमाडौँमा बुझाइएको प्रवक्ता अधिकारीले बताए। बरामद गरिएका सामानमा विभिन्न आइफोन, रेड्मी, सामसुङ तथा ओप्पो कम्पनीका मोबाइल लगायत २८ थान रहेका छन्।
यसैगरी अन्दाजी मूल्य २ लाख बराबरका २६ बाल्टिन र एक प्याक गरी दुई सय ८० किलो अन्दाजी मूल्य रु दुई लाख ८० हजार बराबरको काजु खाने बदाम एक प्याक (एक बोरा अन्दाजी २० किलो) अन्दाजी मूल्य रु २० हजार पनि बरामद गरिएको छ।
यसका साथै रोलको कपडा भएको बोरा थान चार (अन्दाजी सात सय मिटर)को अन्दाजी मूल्य रु एक लाख १८ हजार पाँच सय, फोटो राख्ने फ्रेम भएको कार्टुन दुई थान (एक ठूलो एक सानो)को अन्दाजी मूल्य रु १० हजार बराबरको पनि नियन्त्रणमा लिइएको छ।
भेटिएका अन्य वस्तुमा फेन्सी कपडा भएको बोरा पाँच थान (कुर्ता सरवाल सेट दुई सय १३ थान, टप्स सेट ३६ थान, टप्समात्र थान २१ थान)को अन्दाजी मूल्य रु ६८ हजार गरी जम्मा रु छ लाख ९६ हजार पाँच सय बराबरको रहेका प्रहरीले जनाएको छ।
 
 
                  
                  
               
                      
                      
                       
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                       
                       
                      