सामाजिक सञ्जाल स्न्यापले आफ्नो एआर चश्मा स्न्याप स्प्याक्टिकल्सका लागि नयाँ सफ्टवेयर स्न्याप ओएस २.० सार्वजनिक गरेको छ । यस संस्करणमा नयाँ नेटिभ ब्राउजर, वेबएक्सआर सपोर्ट, स्पोटलाइट लेन्स, ग्यालरी लेन्स र ट्राभल मोड जस्ता सुविधा छन् ।
स्न्यापका अनुसार, अप्डेट गरिएको ब्राउजरले पेज लोडिङ गति बढाएको छ भने पावर खपत कम गर्ने गरी अनुकूलन गरिएको छ ।
अब प्रयोगकर्ताले सजिलै युआरएल टाइप वा आवाजमार्फत वेबसाइट खोल्न, इतिहास हेर्न र पेज रिफ्रेस गर्न सक्नेछन् । स्प्याक्टिकल्समा विन्डोको आकार ल्यापटपजस्तै रिसाइज गर्ने सुविधा पनि थपिएको छ ।
नयाँ स्पटलाइट लेन्समार्फत प्रयोगकर्ताले वास्तविक दुनियाँमै भिडियो कन्टेन्ट ओभरले गर्न सक्नेछन् । यसले दैनिक कामकाज गर्दा पनि मनपर्ने भिडियो हेर्न सजिलो बनाउँछ ।
त्यस्तै, ग्यालरी लेन्सले स्प्याक्टिकल्सबाट खिचिएका भिडियो तथा फोटोहरू इन्टरएक्टिभ लेआउटमा व्यवस्थित गर्ने र साथीहरूसँग सजिलै साझेदारी गर्ने सुविधा दिनेछ ।
यात्राका क्रममा स्थिर अनुभव दिलाउन स्न्यापले ट्राभल मोड पनि ल्याएको छ, जसले एआर कन्टेन्टलाई स्थिर राख्दै ट्र्याकिङ प्रणालीलाई सुधार गर्छ ।
स्न्यापले गत वर्ष डेभलपरहरूका लागि पाँचौँ पुस्ताको स्प्याक्टिकल्स ल्याएको थियो भने सन् २०२६ सम्ममा उपभोक्ताका लागि नयाँ संस्करण ल्याउने तयारी गरेको छ । यस घोषणा मेटाको कनेक्ट कन्फेरेन्स अघि आएको हो, जहाँ मेटाले पनि आफ्ना स्मार्ट ग्लास र एआईसम्बन्धी अपडेट सार्वजनिक गर्ने अपेक्षा गरिएको छ ।