कीवर्डहरू -

सञ्चार मन्त्रालयमा सूचीकृत भयो भाइबर, लिंक्डइन र स्न्याप च्याट सूचीकरणको प्रक्रियामा

सञ्चार मन्त्रालयमा सूचीकृत भयो भाइबर, लिंक्डइन र स्न्याप च्याट सूचीकरणको प्रक्रियामा

सामाजिक सञ्जाल भाइबर सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सूचीकृत भएको छ । सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका २०८० अनुसार भाइबर नेपालमा सूचीकृत भएको हो । 

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका उपसचिव एवं सामाजिक सञ्जाल व्यवस्थापन इकाई संयोजक रमेश पाण्डेले सामाजिक सञ्जाल निर्देशिका अनुसार भाइबर सूचीकृत भएको बताए । 
‘अहिलेसम्म भाइबर नेपालमा सूचीकृत भएको छ । भाइबरले सूचीकरण भएको निस्सा समेत पाइसकेको छ,’ पाण्डेले आईसीटी समाचारसँग भने, ‘अन्य सामाजिक सञ्जाल पनि सूचीकरणको प्रक्रियामा आएका छन् ।’ 

सरकारले गत मंसिरमा सामाजिक सञ्जाललाई व्यवस्थित गर्ने उद्देश्यले सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका २०८० ल्याएको थियो । उक्त निर्देशिका अनुसार सामाजिक सञ्जाल प्लेटफर्म सञ्चालन गर्न चाहने व्यक्ति, कम्पनी वा संस्थाले मन्त्रालयमा सूचीकरण गर्नु पर्ने व्यवस्था गरिएको छ । 

यस व्यवस्था अनुसार भाइबर सूचीकरण भइसकेको छ भने लिंक्डइन, स्न्याप च्याट पनि सूचीकरणको प्रक्रियामा आएका छन् । लिंक्डइन र स्न्याप च्याटले सूचीकरणका लागि दिएको आवेदनमा केही कागजात अपुग भएकाले थप आवश्यक कागजात उपलब्ध गराउन अनुरोध गरिएको उनको भनाइ छ । ‘कागजता पुग्यो भने उनीहरू पनि दर्ता हुन्छन्,’ उनले भने ।  

यसअघि सञ्चालनमा रहेका सामाजिक सञ्जाल प्लेटफर्म ३ महिनाभित्र मन्त्रालयमा सूचीकृत हुनु पर्ने व्यवस्था रहेको छ । तर अहिलेसम्म भाइबर मात्रै सूचीकृत भएको छ । सूचीकृत नभएका सामाजिक सञ्जाल प्लेटफर्मलाई मन्त्रालयले नेपालभित्र सञ्चालनमा रोक लगाउन सक्ने निर्देशिकामा उल्लेख गरिएको छ ।

यस्तैमा मंगलबार मात्रै एशिया इन्टरनेट कोलिसन (एनआईसी) ले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई पत्र पठाउँदै सामाजिक सञ्जाल विधेयकले अन्तिम रूप नपाएसम्म नेपालमा सामाजिक सञ्जाल प्लेटफर्म दर्तामा रोक लगाउन आग्रह गरेको थियो । 

सामाजिक सञ्जाल विधेयकमा एशिया इन्टरनेट कोलिसनका जायज सुझावहरू सम्बोधन गरिएको र विधेयकको मस्यौदलाई थप परिमार्ज गर्ने प्रक्रियामा अगाडि बढेको पाण्डेले जानकारी दिए ।

यस्तो छ सामाजिक सञ्जाल सम्बन्धि निर्देशिका