कर्णाली प्रदेशअन्तर्गत विभिन्न जिल्लामा सञ्चालित नेपाल टेलिकमका केही सेवा केन्द्रहरूमा विद्युत आपूर्ति नहुँदा वायरलेस (2G/3G/4G) तथा वायरलाइन (FTTH) सेवाहरू प्रभावित भएका छन्।
नेपाल टेलिकमका अनुसार २०८२ जेठ ७ गतेदेखि केही स्थानमा सेवा सञ्चालनमा समस्या देखिएको हो। नेपाल विद्युत प्राधिकरण सुर्खेतले दिएको जानकारीअनुसार सो दिन कोहलपुर–चिसापानी क्षेत्रमा चलेको तीव्र हावाहुरीका कारण कोहलपुर–सुर्खेत ३३ के.भी. लाइन अवरुद्ध भएको हो।
विद्युत आपूर्ति नहुँदा कतिपय स्थानका उपकरणहरू सञ्चालन गर्न आवश्यक ब्याट्री वा पावर ब्याकअप न्यून भएकाले केही सेवा अवरुद्ध भएको टेलिकमले जनाएको छ। यद्यपि, कम्पनीले केही अवरुद्ध सेवाहरू पूर्ववत् सञ्चालनमा ल्याइसकेको छ भने अझै सञ्चालनमा आउन नसकेका स्थानहरूमा पोर्टेबल जेनेरेटर प्रयोग गरी सेवा सुचारु गर्न प्रयास भइरहेको जनाएको छ।
कम्पनीले सेवाग्राहीहरूलाई परेको असुविधाप्रति क्षमा याचना गर्दै सकेसम्म चाँडो सेवा पुनः सञ्चालन गर्ने नेपाल टेलिकमले प्रतिबद्धता जनाएको छ।