कीवर्डहरू -

अन्तरिक्षमा डाटा सेन्टर बनाउँदै स्पेसएक्स, १० लाखसम्म उपग्रह प्रक्षेपण गर्न माग्यो अनुमति

अन्तरिक्षमा डाटा सेन्टर बनाउँदै स्पेसएक्स, १० लाखसम्म उपग्रह प्रक्षेपण गर्न माग्यो अनुमति

एलन मस्क र उनको अन्तरिक्ष कम्पनी स्पेसएक्सले हाल पृथ्वीको कक्षमा रहेका उपग्रहहरूको संख्याभन्दा झन्डै १०० गुणा बढी उपग्रह तैनाथ गर्न अनुमति मागेको छ। शुक्रबार स्पेसएक्सले अमेरिकी संघीय सञ्चार आयोग (एफसीसी) समक्ष एक आवेदन दर्ता गर्दै ‘अर्बिटल डाटा सेन्टर’ निर्माणका लागि १० लाखसम्म उपग्रह प्रक्षेपण गर्ने प्रस्ताव राखेको हो।

ब्लूमबर्ग र रोयटर्सले यसअघि रिपोर्ट गरेअनुसार स्पेसएक्सका प्रमुख कार्यकारी अधिकृत एलन मस्क कम्पनीलाई सार्वजनिक (आईपीओ) गर्ने तयारीमा रहेको चर्चा चलिरहेका बेला कम्पनीभित्रका स्रोतहरूले पहिलो पटक ‘अर्बिटल डाटा सेन्टर’को अवधारणा सार्वजनिक गरेका थिए। हाल एफसीसीमा दर्ता गरिएको आवेदनले उक्त योजनालाई औपचारिक रूप दिएको छ।

पीसीम्यागले देखेको एफसीसी फाइलिङअनुसार, प्रस्तावित अर्बिटल डाटा सेन्टर सौर्य ऊर्जामा आधारित हुनेछ र कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धी कम्प्युटिङ आवश्यकताका लागि क्षमता उपलब्ध गराउने उद्देश्य राखिएको छ। स्पेसएक्सले ५० किलोमिटरसम्म फराकिला, तर साँघुरा कक्षीय तहहरूमा सञ्चालन हुने गरी अधिकतम १० लाख उपग्रह तैनाथ गर्न अनुमति मागेको छ।

स्पेसएक्सको दाबी अनुसार अर्बिटल डाटा सेन्टरहरू एआई कम्प्युटिङ शक्तिको तीव्र रूपमा बढ्दो माग पूरा गर्न सबैभन्दा प्रभावकारी माध्यम हुन् । किनकि यी प्रणालीहरूले सौर्य ऊर्जाको प्रयोग गर्छन् र सञ्चालन तथा मर्मतसम्भार लागत न्यून हुन्छ।

माग गरिएको उपग्रह सङ्ख्याको परिमाण बुझ्न, स्पेसएक्सले हालै आफ्नो ११,००० औँ स्टारलिंक उपग्रह प्रक्षेपणको उपलब्धि हासिल गरेको थियो। यद्यपि सबै उपग्रह कक्षामा सक्रिय छैनन्। स्टारलिंकको तथ्यांक ट्र्याक गर्ने एक अनौपचारिक वेबसाइटका अनुसार सन् २०२६ जनवरी ३० सम्म करिब ९,६०० भन्दा बढी स्टारलिंक उपग्रह पृथ्वीको कक्षामा छन्।

यसअघि जस्तै, एफसीसीले पनि यस पटक स्पेसएक्सले माग गरेको उपग्रह सङ्ख्या घटाउने सम्भावना रहेको विश्लेषकहरूले बताएका छन्। नियामक निकायले अघिल्ला वर्षहरूमा पनि यस्तै निर्णय गर्दै आएको छ।

यही महिनाको सुरुवातमा एफसीसीले स्पेसएक्सलाई थप ७,५०० स्टारलिंक उपग्रह तैनाथ गर्न स्वीकृति दिएको थियो, जबकि यसअघि सन् २०२२ मा पनि ७,५०० उपग्रह प्रक्षेपण भइसकेका थिए। तर यो सङ्ख्या सन् २०२० मा स्पेसएक्सले सुरुमा माग गरेको करिब ३०,००० उपग्रहभन्दा निकै कम हो।

अब एफसीसीले स्पेसएक्सको पछिल्लो प्रस्तावलाई कसरी मूल्यांकन गर्छ र कति उपग्रह तैनाथ गर्न अनुमति दिन्छ भन्ने विषयले विश्वव्यापी अन्तरिक्ष तथा प्रविधि क्षेत्रमा ठूलो चासो पैदा गरेको छ।