अमेरिकी अन्तरिक्ष प्रविधि कम्पनी स्पेसएक्सले अमेरिकी सरकारका लागि उपग्रह विकास गर्न करिब २ अर्ब अमेरिकी डलरको ठेक्का पाउने भएको छ । यो जानकारी वाल स्ट्रीट जर्नलको रिपोर्टमा उल्लेख गरिएको छ ।
रिपोर्टका अनुसार, स्पेसएक्सले ६ सयवटा उपग्रह निर्माण गर्नेछ, जसले मिसाइल र विमान ट्र्याक गर्न सक्ने क्षमता राख्नेछन् । यी उपग्रहहरू राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा प्रस्तावित ‘गोल्डेन डोम’ परियोजनामा प्रयोग हुने बताइएको छ ।
गत मे महिनामा घोषणा गरिएको यो परियोजनाको उद्देश्य सम्भावित मिसाइल आक्रमणहरूलाई लक्ष्यमा पुग्नु अघि नै अवरोध गर्ने एन्टि-मिसाइल रक्षा प्रणाली निर्माण गर्ने रहेको छ । यो प्रणाली इजरायलको आयरन डोम जस्तै हुने बताइए पनि, पेन्टागनले अहिलेसम्म यसबारे विस्तृत विवरण सार्वजनिक गरेको छैन ।
परियोजनाको ठूलो परिमाणलाई ध्यानमा राख्दा, स्पेसएक्सको यो २ अर्ब डलरको सम्झौता गोल्डेन डोमसँग सम्बन्धित धेरै ठेक्कामध्ये एक मात्र हुन सक्ने अनुमान गरिएको छ ।
रिपोर्टका अनुसार, एन्डुरिल इन्डस्ट्रीज र पालेन्टिर टेक्नोलोजिज जस्ता कम्पनीहरू पनि यस विकासमा संलग्न हुने सम्भावना छ। ट्रम्प प्रशासनले यो परियोजना आफ्नो कार्यकाल समाप्त हुनु अघि पूरा गर्ने लक्ष्य राखेको बताइएको छ।
गोल्डेन डोम बाहेक, पेन्टागनले स्पेसएक्सको व्यापक उपग्रह नेटवर्कलाई सैन्य संचार र सवारी साधन ट्र्याकिङ जस्ता अन्य प्रयोजनका लागि पनि प्रयोग गर्ने तयारी गरिरहेको वाल स्ट्रिट जर्नलले जनाएको छ ।
स्पेसएक्सको स्टारलिंक सेवामा हाल ८ हजारभन्दा बढी उपग्रहहरू सञ्चालनमा रहेका छन्, जसको प्रयोगले विश्वव्यापी इन्टरनेट सेवा मात्र नभई सैन्य प्रयोजनमा समेत ठूलो फाइदा पुग्ने अपेक्षा गरिएको छ ।
आईसीटी समाचार