नेपालको अग्रणी इन्टरप्राइज मेसेजिङ प्लेटफर्म स्प्यारो एसएमएसले आफ्नो स्थापनाको १६औँ वार्षिकोत्सव मनाउँदै आधिकारिक ‘मेटा टेक पार्टनर’को रूपमा ह्वाट्सएप बिजनेस एपीआई सेवा सार्वजनिक गरेको छ। कम्पनीले “सन्देश प्रवाहको १६ मिठो वर्ष” नारासहित स्टार्टअपबाट राष्ट्रियस्तरको सञ्चार पूर्वाधार प्रदायकसम्मको यात्रा स्मरण गरेको हो। हाल स्प्यारो एसएमएसले ८ हजारभन्दा बढी व्यवसायलाई सेवा दिँदै वार्षिक ३५ करोडभन्दा बढी सन्देश प्रवाह गर्दै आएको छ।
सन् २०१० मा स्थापना भएको स्प्यारो एसएमएसले नेपालमा बल्क एसएमएस सेवाको विस्तार र परिष्कारमा भूमिका खेलेको कम्पनीले जनाएको छ। एसईई नतिजा उपलब्ध गराउने व्यवस्था, लोडसेडिङको सूचना प्रवाह तथा विपद्का समयमा महत्वपूर्ण जानकारी सम्प्रेषणजस्ता सेवामार्फत कम्पनी राष्ट्रियस्तरको विश्वसनीय मेसेजिङ माध्यमका रूपमा स्थापित भएको उल्लेख छ।
कम्पनीले चुनौतीपूर्ण परिस्थितिबीच आफ्नो यात्रा सुरु गर्दै लोडसेडिङको तालिका र एसएलसी/एसईई नतिजा एसएमएसमार्फत उपलब्ध गराएर परिचय बनाएको थियो। पछि वैदेशिक रोजगार ठगी नियन्त्रणका लागि श्रम स्वीकृति जाँच, २०७२ को भूकम्पमा राहत सहजीकरण र मानव बेचबिखन जोखिम रिपोर्टिङजस्ता जनहितका परियोजनामा पनि सक्रिय भूमिका निर्वाह गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।
वार्षिकोत्सवकै अवसरमा स्प्यारो एसएमएसले ह्वाट्सएप बिजनेस एपीआईमार्फत नेपाली व्यवसायलाई स्थानीय सहयोगसहित डिजिटल सञ्चारको नयाँ विकल्प उपलब्ध गराएको छ। नयाँ सेवाअन्तर्गत ब्लु टिक प्रमाणीकरण, एआई-सञ्चालित स्वचालित च्याट फ्लो र मेटासँग सिधा एकीकरणजस्ता सुविधा रहनेछन्। कम्पनी आधिकारिक ‘भाइबर बिजनेस मेसेजिङ’ पार्टनर पनि रहेको छ।
स्प्यारो एसएमएसका प्रमुख कार्यकारी अधिकृत मनोज थापाले ग्राहकको विश्वास, टिमको नवीनता र साझेदारहरूको साथले यात्रालाई सफल बनाएको उल्लेख गर्दै आगामी दिनमा सञ्चार क्षेत्रलाई थप उचाइमा पुर्याउने प्रतिबद्धता व्यक्त गरेका छन्।
वार्षिकोत्सवको अवसरमा कम्पनीले विशेष ‘स्विट १६’ अफरसमेत ल्याएको छ। यसअन्तर्गत हरेक टप-अप कारोबारमा १६ प्रतिशत बोनस एसएमएस क्रेडिट, साथै अफर अवधिमा दर्ता हुने पहिलो १६० प्रयोगकर्तालाई १६० निःशुल्क एसएमएस क्रेडिट दिइनेछ। यो योजना वैशाख १६ गतेसम्म लागू हुने कम्पनीले जनाएको छ।
आईसीटी समाचार