इन्टरनेट स्पीड जाँच गर्ने लोकप्रिय सेवा स्पीडटेस्ट र वेबसाइट डाउन भएको जानकारी दिने प्लेटफर्म डाउनडिटेक्टर अब नयाँ कम्पनीको स्वामित्वमा जाने भएका छन् ।
अमेरिकी डिजिटल मिडिया कम्पनी जीफ डेभिस (Ziff Davis) ले आफ्नो कनेक्टिभिटी डिभिजनलाई विश्वव्यापी टेक्नोलोजी कन्सल्टिङ कम्पनी एक्सेन्चरलाई १.२ अर्ब अमेरिकी डलर नगदमा बेच्ने सम्झौता गरेको घोषणा गरेको छ ।
यो डिभिजनभित्र स्पीडटेस्ट सञ्चालन गर्ने ओक्ला तथा डाउनडिटेक्टरजस्ता सेवा समावेश छन्, जुन विश्वभर इन्टरनेटको गति र सेवा अवरोधको जानकारी लिन व्यापक रूपमा प्रयोग गरिन्छ।
समाचार संस्था रोइटर्सका अनुसार यो सम्झौतापछि जिफ डेभिसले आफ्नो प्रमुख डिजिटल ब्रान्डहरूमा बढी ध्यान केन्द्रित गर्ने योजना बनाएको छ । कम्पनीका प्रमुख ब्रान्डहरूमा आईजीएन, मेसाबेल र एभरिडेहल्थ पर्छन् ।
हालै कम्पनीले आफ्ना केही गेमिङ मिडिया ब्रान्डहरूमा संरचनात्मक परिवर्तनसमेत गरेको छ । उदाहरणका लागि युरो गेमरका अनुभवी सम्पादकहरूलाई हटाइएको थियो भने VG247 लाई सानो दुई सदस्यीय टोलीमा सीमित गरिएको छ।
जिफ डेभिसले ओक्लालाई सन् २०१४ मा करिब १५ मिलियन डलरमा खरिद गरेको थियो। पछि विश्वभर फाइभजी विस्तार र कोभिड महामारीका समयमा इन्टरनेट प्रयोग तीव्र रूपमा बढेपछि स्पीडटेस्टजस्ता सेवाको प्रयोग बढ्यो। त्यसकै परिणामस्वरूप कनेक्टिभिटी डिभिजनले २०२५ मा मात्र २३१ मिलियन डलर राजस्व कमाएको बताइएको छ ।
आयरल्यान्डको डब्लिनमा मुख्यालय रहेको एक्सेन्चरले यो खरिदलाई एआईमा आधारित नेटवर्क विश्लेषण सेवा विकास गर्ने रणनीतिक कदमका रूपमा लिएको जनाएको छ।
कम्पनीका अनुसार स्पीडटेस्ट र डाउनडिटेक्टरबाट प्राप्त हुने नेटवर्क डाटा प्रयोग गरेर एआई आधारित ‘एन्ड–टु–एन्ड नेटवर्क इन्टेलिजेन्स सेवा’ निर्माण गर्न मद्दत पुग्नेछ।
यो कारोबार अन्तिम रूपमा सम्पन्न हुन केही महिना लाग्ने अपेक्षा गरिएको छ। त्यस अवधिसम्म स्पीडटेस्ट र डाउनडिटेक्टर सेवा भने जीफ डेभिसले नै सञ्चालन गर्नेछ ।
आईसीटी समाचार