स्याटेलाइट इन्टरनेट सेवा प्रदायक स्टारलिंकले भेनेजुएलाका नागरिकलाई फेब्रुअरी ३ सम्म निःशुल्क ब्रडब्यान्ड इन्टरनेट सेवा उपलब्ध गराउने घोषणा गरेको छ। देशमा निरन्तर इन्टरनेट पहुँच सुनिश्चित गर्ने उद्देश्यसहित इन्टरनेट निःशुल्क दिइएको कम्पनीले जनाएको छ।
स्टारलिंकका अनुसार हाल सक्रिय प्रयोगकर्ताले कुनै पनि अतिरिक्त प्रक्रिया पूरा गर्नुपर्ने छैन। निःशुल्क सेवा क्रेडिटहरू स्वतः प्रयोगकर्ताको खातामा लागू गरिँदै छन्।
त्यस्तै, भुक्तानी समस्याका कारण सेवा बन्द भएका वा अस्थायी रूपमा रोकिएका प्रयोगकर्ताका खातामा पनि निःशुल्क सेवा क्रेडिट स्वतः थपिने कम्पनीले जनाएको छ। यसले गर्दा ती प्रयोगकर्ताले उक्त अवधिमा पुनः सेवा सक्रिय गर्न सक्नेछन्।
प्रयोगकर्ताले आफ्नो खाताको बिलिङ सेक्सनमा गएर सेवा क्रेडिट हेर्न सक्नेछन्। स्टारलिंकले हाल नयाँ तथा पूराना दुवै प्रयोगकर्तालाई निःशुल्क सेवा क्रेडिटमार्फत इन्टरनेट पहुँच उपलब्ध गराउने कुरामा केन्द्रित रहेको जनाएको छ।
यदि कसैसँग पहिले नै स्टारलिंक किट उपलब्ध छ भने, ‘रोम (Roam) प्लान’ चयन गरी भेनेजुएलामा सेवा प्रयोग गर्न सकिने कम्पनीले स्पष्ट पारेको छ।
कम्पनीले भेनेजुएलाको परिवर्तनशील अवस्था र नियामक आवश्यकताहरूको निरन्तर अनुगमन गरिरहेको जनाएको छ। हालसम्म स्थानीय रूपमा स्टारलिंक किट खरिद गर्न सकिने समयरेखा भने सार्वजनिक गरिएको छैन।
भविष्यमा कुनै नयाँ जानकारी उपलब्ध भएमा स्टारलिंकका आधिकारिक च्यानलमार्फत सार्वजनिक गरिने कम्पनीको भनाइ छ।
आईसीटी समाचार