कीवर्डहरू -

३ प्रतिशत ब्याजदरमा स्टार्टअपलाई २५ लाखसम्म कर्जा दिदै सरकार, अनलाइनबाटै यसरी दिनुहोस् आवेदन

३ प्रतिशत ब्याजदरमा स्टार्टअपलाई २५ लाखसम्म कर्जा दिदै सरकार, अनलाइनबाटै यसरी दिनुहोस् आवेदन

सरकारले स्टार्टअप उद्यम कर्जाका लागि परियोजना पेश गर्न आह्वान गरेको छ । औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले मंगलबार सूचना प्रकाशित गर्दै स्टार्टअप उद्यम कर्जाका लागि परियोजना पेश आग्रह गरेको हो । 

स्टार्टअप उद्यम कर्जा कार्यविधि २०८१ अनुसार स्टार्टअप उद्यम मापदण्ड पुरा गरेका तोकिएको क्षेत्रका नवीनतम ज्ञान, सोच, सीप र क्षमता भएका स्टार्टअपहरूलाई कर्जा प्रदान गरिने छ ।

कर्जाका लागि आगामी २१ दिनसम्म परियोजना पेश गर्नुपर्नेछ । कर्जाका लागि आवेदन अनलाइन वा अफलाइन दुबै माध्यमबाट दिन सकिने छ ।

कर्जाका लागि अनलाइनबाटै आवेदन दिन यहाँ क्लिक गर्नुहोस् र त्यसपछि अकाउन्ट बनाएर आवेदन दिन सकिने छ । साथै अफलाइनबाट आवेदन दिन यहाँ क्लिक गरी परियोजना प्रस्तावको ढाँचा डाउनलोड गरेर त्रिपुरेश्वरमा रहेको प्रतिष्ठानको कार्यालयमा बुझाउनु सकिने छ । 

सरकारले स्टार्टअपलाई ३ प्रतिशत ब्याजदरमा २५ लाखसम्म कर्जा उपलब्ध गराउने छ । कर्जाका लागि परियोजना नै धितोको रूपमा हुनेछ ।

कर्जा पाउनका लागि उद्यम व्यवसाय दर्ता भई दश वर्ष ननाँघेको, स्थापना भएपछि कुनैपनि आर्थिक वर्षमा वार्षिक कारोबार १५ करोड रूपैयाँ ननाँघेको, नवीन सोचसहित तीव्र वृद्धिको सम्भावना भएको र सञ्चालित व्यवसाय नगाभिई वा नटुक्रिई नयाँ उद्यम हुनुपर्नेछ ।

प्रचलित कानुनबमोजिम उद्योगको रुपमा दर्ता नभएको, वस्तु तथा सेवा विदेशबाट आयात गरी बिक्री वितरण गर्ने गरेको, कालोसूचीमा परेको तथा औद्योगिक व्यवसाय ऐन, २०७६ बमोजिम होल्डिङ तथा लगानी कम्पनीको रुपमा दर्ता भएको उद्यमलाई स्टार्टउप कर्जाका लागि योग्य मानिने छैन ।

कर्जाको अवधि अधिकतम पाँच वर्षको हुनेछ । कर्जावापतको रकम बैंकमा छुट्टै खाता खोली जम्मा गर्नुपर्नेछ भने खातामा बाँकीरहेको रकम आर्थिक वर्षको अन्त्यमा सङ्घीय सञ्चित कोषमा फिर्ता गर्नुपर्नेछ । 

कर्जाका लागि आवेदन दिँदा अन्य कुनै निकायबाट सहुलियत कर्जा नलिएको स्वघोषणा गर्नुपर्ने र स्वघोषणा झुटो रहेको पुष्टि भएमा त्यस्तो प्रस्ताव जुनसुकै बेला रद्द हुन सक्ने छ । अन्य निकायबाट सहुलीयत कर्जा लिएका प्रस्तावकलाई सो कर्जा चुक्ता नगरेसम्म यस कार्यविधि अनुसार कर्जा उपलब्ध हुनेछैन् । 

कर्जा दिदा बैंकले कर्जा प्रवाह गर्ने तरिका, कर्जाको सीमा, किस्ता बुझाउनुपर्ने अवधि, साँवा फिर्ता र व्याजको अवधि तथा प्रक्रिया प्रस्तावकसँग सम्झौता गर्नुपर्नेछ । कर्जा लिएको दोस्रो वर्षबाट साँवा र ब्याज वापतको रकम फिर्ता गर्न प्रारम्भ गर्नुपर्ने छ ।

उद्यमीसँग गरेको सम्झौताको जानकारी सात दिनभित्र बैंकले प्रतिष्ठानलाई दिनु पर्नेछ । सम्झौता भएपछि सम्बन्धित बैङ्कले उद्यमीलाई सात कार्यदिन भित्र कर्जाको प्रथम किस्ता उपलब्ध गराउनु पर्नेछ । 

बैकले कर्जा प्रवाह गर्दा बढीमा पाँच लाख सम्मको कर्जाको हकमा एक किस्ता, पन्ध्र लाखसम्मको लागि दुइ किस्ता र सो भन्दा माथि पच्चीस लाखसम्मको हकमा तीन किस्तामा कर्जा रकम उपलब्ध गराउने छ । उपलब्ध गराइएको प्रथम किस्ताको रकम सम्बन्धित उद्यमीले स्टार्टअप उद्यममा कर्जा प्रयोग गरेको पुष्टयाँइसहित थप किस्ता माग गरेमा बैङ्कले निरीक्षण गरी प्रगतिको आधारमा थप कर्जा रकम उपलब्ध गराउनु पर्नेछ ।

कसैले किस्ता अवधि अगावै कर्जा चुक्ता गर्न चाहेमा अतितिक्त शुल्क लाग्ने छैन् । कर्जा प्रवाह गर्दा बैङ्कले प्रचलित कानून बमोजिम निक्षेप तथा कर्जा सुरक्षण कोषमा कर्जाको सुरक्षण गराउनु पर्नेछ । कर्जा प्रवाह गर्दा बैंकले अधिकतम ०.१ प्रतिशतसम्म सेवा शुल्क लिन पाउने छ ।