कीवर्डहरू -

नेपाल र श्रीलंकाबीच आईटी क्षेत्रमा रणनीतिक सहकार्य

नेपाल र श्रीलंकाबीच आईटी क्षेत्रमा रणनीतिक सहकार्य

नेपाल र श्रीलंकाले औपचारिक रूपमा एक रणनीतिक द्विपक्षीय साझेदारी सुरु गरेका छन् । यो सहकार्यले दुई राष्ट्रबीच डिजिटल रूपान्तरणलाई तीव्र पार्ने, नवप्रवर्तनलाई बढावा दिने र आर्थिक सहयोगलाई थप सुदृढ गर्ने अपेक्षा गरिएको छ ।

क्यान महासंघका वरिष्ठ उपाध्यक्ष चिरञ्जीवी अधिकारीको नेतृत्वमा अगाडि बढेको यस सहकार्यले दुई देशको डिजिटल भविष्यलाई आकार दिन सघाउने बताइएको छ । 

सहकार्य अनुसार नेपाल–श्रीलंका आईसीटी बिजनेस काउन्सिलको स्थापना हुनेछ । यसले आउटसोर्सिङ, साइबर सुरक्षा, फिनटेक, कृत्रिम बुद्धिमत्ता (एआई) र अन्य उदीयमान प्रविधिहरू लगायतका महत्वपूर्ण क्षेत्रमा संरचित संवाद, सीमापार सहयोग र व्यापारिक सम्बन्धलाई सहजीकरण गर्नेछ।

त्यस्तै श्रीलंकाका भेन्चर क्यापिटलिस्ट, एक्सिलरेटर र कम्पनीहरूको सहयोगमा सह-लगानी मोडेल र इन्क्युबेशन कार्यक्रमहरूलाई जोड दिने, एआई, हेल्थटेक, एग्रिटेक र फिनटेकलगायतका क्षेत्रमा नेपाली स्टार्टअपहरूका लागि पर्याप्त वृद्धि अवसरहरू प्रदान गर्नेछ ।

यस बाहेक प्राविधिक तालिम कार्यक्रम, आउटसोर्सिङ र प्रतिभा आदानप्रदानलाई सहजीकरण, नेपालको एनपीसर्ट (npCert) र श्रीलंका सर्ट (Sri Lanka CERT) ले क्षेत्रीय साइबर सुरक्षा लचिलोपनलाई बलियो बनाउन खतरा खुफिया साझेदारी, सीमापार घटना प्रतिक्रिया र संयुक्त क्षमता निर्माण पहलहरूमा सहकार्य गर्नेछन् ।

साथै आईसीटी ट्रेड मिसन, एक्स्पो र सम्मेलनहरूको सह-आयोजन गर्ने योजना सहकार्यको छ । नेपालको क्यान इन्फोटेक, बिटुबी समिट, स्टार्टअप एक्स्पो र श्रीलंकाको ट्रेड एक्स्पो, कन्फरेन्स, पोलिसी डाइलगमा क्रस-नेशनल सहभागिता रहनेछ ।

नेपाल–श्रीलंका आईसीटी नवप्रवर्तन कोषको स्थापना गर्ने, आईसीटी विश्वविद्यालय र संस्थाहरूले एआई, ब्लकचेन र डेटा एनालिटिक्स जस्ता क्षेत्रमा संयुक्त अनुसन्धान, संकाय र विद्यार्थी आदानप्रदान र सहयोगी विकासमा सहकार्य हुनेछ ।