कीवर्डहरू -

प्रविधिमार्फत समस्याको समाधान खोज्दै विद्यार्थीहरू (भिडियोसहित)

प्रविधिमार्फत समस्याको समाधान खोज्दै विद्यार्थीहरू (भिडियोसहित)

विद्यार्थीहरूमा कृत्रिम बुद्धिमत्ता (एआई), रोबोटिक्स र कोडिङ क्षमताको प्रवर्द्धन गर्ने उद्देश्यले स्किल्सअपले निमा एजुकेसन फाउन्डेसन र स्टिमपेडियासँगको सहकार्यमा ‘कोडेभर ७.०’ राष्ट्रिय प्रतियोगिता आयोजना गरेको छ। प्रतियोगिता यही माघ २६ गते, सोमबार काठमाडौंको बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा सम्पन्न भएको हो।

देशभरका ५० भन्दा बढी विद्यालय तथा कलेजबाट ३०० भन्दा बढी विद्यार्थी सहभागी प्रतियोगितामा ७ देखि १८ वर्ष उमेर समूहका विद्यार्थीहरूले प्रविधि–आधारित नवीन समाधानहरू प्रस्तुत गरेका थिए। ‘स्वस्थ भविष्यका लागि प्रविधि’ भन्ने मूल थिममा आयोजित प्रतियोगितामा करिब १०० परियोजनाहरू प्रदर्शनीमा राखिएका थिए।

null

प्रदर्शनीमा स्मार्ट ह्वीलचेयर, एआईमा आधारित शहरी वर्षा पहिचान प्रणाली, आगलागी तथा ग्यास पहिचान र चेतावनी प्रणाली, बाढी पहिचान तथा चेतावनी प्रणाली, भूमिगत पानीको सतह अनुगमन प्रणाली, वायु गुणस्तर अनुगमन तथा फिल्ट्रेसन प्रणाली, LoRa मा आधारित आपतकालीन प्रतिक्रिया प्रणाली, स्मार्ट ग्रीनहाउस, कार्बन ट्र्यापिङ, कार्बन क्यास्केड तथा सेनेटरी प्याड डिस्पेन्सरजस्ता परियोजनाहरू प्रस्तुत गरिएका थिए।

कार्यक्रममा स्किल्सअपका प्रमुख कार्यकारी अधिकृत (सीईओ) निश्चल प्रधानले विद्यालय तहदेखि नै बालबालिकालाई एआई र रोबोटिक्ससँग जोड्नुपर्ने आवश्यकता औंल्याए।

‘अबको युग प्रविधिको युग हो। एआई र रोबोटिक्सको ज्ञान विद्यालय तहदेखि नै आवश्यक भइसकेको छ,’ उनले भने, ‘कोडेभर बालबालिकालाई प्रारम्भिक चरणदेखि नै प्रविधिसँग जोड्ने हाम्रो सानो प्रयास हो।’

प्रतियोगितामा एसिया प्यासिफिक स्कुल, रिलायन्स पब्लिक स्कुल, ललिगुराँस नेशनल एकेडेमी, काठमाडौं न्यू क्यासल स्कुल, बालबाटिका स्कुल, बुद्धनीलकण्ठ स्कुल, नवोदित कलेज, सेन्ट जोसेफ्स स्कुल विराटनगर, ज्ञानोदय बालबाटिका, पिक प्वाइन्ट एकेडेमी, काठमाडौं भ्याली स्कुल, पाथिभरा इङ्लिस स्कुल (लेटाङ, मोरङ), नवा किरण इङ्लिस स्कुल (रामधुनी, सुनसरी), आरम्भ विद्या मन्दिर (रामधुनी, सुनसरी), राजाबास माध्यमिक विद्यालय (बराहक्षेत्र, सुनसरी), वज्र एकेडेमी तथा भी.एस. निकेतन उच्च माध्यमिक विद्यालयका विद्यार्थीहरूको सहभागिता रहेको थियो।

प्रतियोगिताबाट छनोट भएका शीर्ष टोलीहरूले आगामी मे महिनामा इन्डोनेसियामा आयोजना हुने अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्ने अवसर पाउनेछन्।

null

शीर्ष टोली छनोटका लागि डिजिटल एन्ड बियोन्डका सीईओ सगुन ढुंगाना, WEaRE का कार्यक्रम निर्देशक ग्यारी डे ला पोमेराइ, निर्मल माध्यमिक विद्यालय दमौली, तनहुँका कम्प्युटर विज्ञान विभाग प्रमुख दीपक पन्थ तथा नेशनल इनोभेसन सेन्टरका प्रविण बोहरासहितको निर्णायक मण्डल रहेको थियो।

प्रतियोगिताका प्रायोजकहरूमा बोन होलिडेज, सनवे कलेज, हिमालयन बैंक र एजुकेसन ट्री ग्लोबल रहेका थिए। यस्तै ब्रेनडिजिट, कोड क्लब, कन्टेन्टडर, चाइल्डसेफनेट, डिजिटल एन्ड बियोन्ड, आईसीटी फाउन्डेसन नेपाल, क्लासिक टेक र ग्लोबल स्पार्कसँग सहकार्य गरिएको थियो।

nullnull