कीवर्डहरू -

टेक र करियरको खोजीमा विद्यार्थी, एलबीईएफमा सम्पन्न भयो ‘प्रविधि मेला’

टेक र करियरको खोजीमा विद्यार्थी, एलबीईएफमा सम्पन्न भयो ‘प्रविधि मेला’

काठमाडौं । प्रविधि केवल कक्षाकोठामा पढ्ने विषय होइन, रोजगारी, उद्यमशीलता र सिर्जनशीलताको महत्वपूर्ण आधार पनि हो भन्ने सन्देशसहित काठमाडौंको मैतीदेवीस्थित लर्ड बुद्ध एजुकेशन फाउण्डेसन (एलबीईएफ) मा आयोजित दुईदिने ‘प्रविधि मेला’ सम्पन्न भएको छ ।

सीएसआईटी एसोसिएसन अफ नेपाल (सीएसआईटीएएन) को आयोजनामा भएको मेलामा विद्यार्थी र युवादेखि प्रविधि व्यवसायी, उद्यमी, रोजगारदाता तथा अभिभावकसम्म सहभागी भएका थिए । प्रविधि क्षेत्रमा उपलब्ध सीप, रोजगारी र उद्यमशीलताका अवसरलाई विद्यार्थी तथा युवासँग प्रत्यक्ष जोड्ने उद्देश्यले मेला आयोजना गरिएको आयोजकले जनाएको छ ।

null

मेलाको उद्घाटन गर्दै एलबीईएफका अध्यक्ष ई. पंकज जालानले नेपालले प्रविधिको प्रयोग गर्ने मात्र नभई प्रविधि र दक्ष जनशक्ति निर्यात गर्ने दिशामा अघि बढ्नुपर्ने बताए ।

उनका अनुसार बजारको मागअनुसार दक्ष जनशक्ति उत्पादन गर्न शिक्षा प्रणालीलाई उद्योग तथा प्रविधि क्षेत्रको आवश्यकतासँग जोड्न आवश्यक छ । विद्यार्थीले शैक्षिक ज्ञानसँगै व्यावहारिक सीप, समस्या समाधान गर्ने क्षमता र नवप्रवर्तनमा पनि ध्यान दिनुपर्ने उनले बताए ।

‘उद्योग र बजारको आवश्यकतासँग जोडिएको आईटी शिक्षा अहिलेको आवश्यकता हो,’ जालानले भने, ‘विद्यार्थीलाई स्वदेशमै रोजगारी र उद्यमका अवसर सिर्जना गर्न सक्ने वातावरण बनाउन यस्ता कार्यक्रमले सहयोग पुर्‍याउँछन् ।’

दुई दिनसम्म चलेको मेलामा प्रविधि र सिर्जनशीलतासँगै खेल तथा विभिन्न अन्तरक्रियात्मक गतिविधिलाई समेत प्राथमिकता दिइएको थियो । विद्यार्थीले नयाँ प्रविधि र विचारबारे जानकारी लिनुका साथै विभिन्न प्रतिस्पर्धामा सहभागी भएर आफ्नो प्राविधिक तथा सिर्जनात्मक क्षमता प्रदर्शन गरेका थिए ।

मेलामा क्रिएटिभ क्ल्यास, बिल्ड ब्याटल, क्याप्चर द फ्ल्याग (सीटीएफ), क्ल्यास रोयाल र ई-फुटबल गरी पाँच प्रतियोगिता आयोजना गरिएको थियो । आयोजकका अनुसार इन-किन्ड पुरस्कारसहित प्रतियोगिताहरूको कुल पुरस्कार राशि २ लाख ६७ हजार रुपैयाँ रहेको थियो ।

null

प्रविधिसम्बन्धी प्रतिस्पर्धासँगै मेलामा करियर मार्गदर्शन, नवीन विचार प्रस्तुति, मेन्टरसँग अन्तरक्रिया, प्राविधिक सिर्जना तथा नेटवर्किङका गतिविधि समेत सञ्चालन गरिएको थियो । यसले विद्यार्थीलाई प्रविधि क्षेत्रमा आफ्नो करियरको सम्भावना बुझ्न तथा उद्योगसँग प्रत्यक्ष सम्पर्क स्थापित गर्न अवसर दिएको आयोजकको भनाइ छ ।

मेलामा सहभागी विद्यार्थी, प्रविधि उत्साही र नवप्रवर्तकबीच नयाँ विचार आदानप्रदान तथा अनुभव साटासाटसमेत भएको थियो । कक्षाकोठाको सिकाइलाई व्यावहारिक गतिविधि र प्रतिस्पर्धासँग जोड्दै विद्यार्थीलाई प्रविधिको वास्तविक प्रयोगतर्फ आकर्षित गर्नु मेलाको अर्को उद्देश्य रहेको आयोजकले जनाएको छ ।

सीएसआईटीएएनले विद्यार्थी प्रतिभा, प्रविधि र नवप्रवर्तनलाई एउटै प्लेटफर्ममा जोड्ने यस्ता कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिने जनाएको छ ।