कीवर्डहरू -

पर्वतका विद्यार्थीले बनाए ड्रोन

पर्वतका विद्यार्थीले बनाए ड्रोन
सांकेतिक तस्वीर

पर्वत जिल्लाको एक विद्यालयका छ जना विद्यार्थीले ड्रोन बनाएका छन्। सदरमुकाम कुश्माबजार स्थित नमूना आवासीय माविका छ जना विद्यार्थीले ड्रोन बनाएर आकाशमा उडाउन सफल भएका हुन्।

नमूना आवासीय मावि कक्षा १० मा अध्ययनरत विद्यार्थीहरूले साढे दुई महिनाको अवधि लगाएर अत्याधुनिक प्रविधिको ड्रोन बनाएर बुधवार सफल परीक्षण गरेका हुन् । कक्षा १० मा अध्ययरत उत्सभ गिरी, विज्ञान पौडेल, सुजन सुवेदी, चिन्तन सुवेदी, निश्चल शाही र सविन आरडीले ड्रोन बनाएका हुन्। क्यामरा जडान गर्न सकिने उक्त ड्रोन पाँच सय मिटर वरिपरी उडाउन सकिने क्षमताको रहेको छ।

कतिपय स्थानीय स्तरमा र कतिपय पोखरा, काठमाडौँ, बुटवल र भारतबाट समेत सामग्री जुटाएर ड्रोन निर्माण गरिएको विद्यार्थी उत्सभ गिरीले जानकारी दिए। विज्ञान विषयमा सिकेको ज्ञान तथा युटुब, विभिन्न बेवसाइट, शिक्षक तथा विभिन्न प्रदर्शनीमा देखेका आधारमा ड्रोन तयार पारिएको गिरीले बताए।

ड्रोनमा क्यामेरा जडान गरेर फोटो तथा भिडियो खिच्न सकिन्छ भने यसलाई परिमार्जन गरेर सामान बोक्नका लागि प्रयोगसमेत गर्न सकिने अर्का विद्यार्थी विज्ञान पौडेलले बताए। उनका अनुसार यसका लागि आवश्यक सामाग्री स्थानीय स्तरमा नपाइने भएकाले लामो समय लागेको हो। गत माघ अन्तिमदेखि ड्रोन निर्माण शुरु गरिएको भए पनि आवश्यक उपकरण समयमै उपलव्ध नभएकाले वैशाख अन्तिम सातामात्र उनीहरूले पूर्णता दिएका हुन्।

ड्रोन निर्माणका लागि आफ्नो सिप र परिश्रम बाहेक रु ५१ हजार सात सय ५० खर्च लागेको ड्रोन निर्माणकर्ता विद्यार्थी सुजन सुवेदीले बताए। फ्रेम, पंखा, इन्जिन, ब्याट्री, मोटर, फ्लाइट कन्ट्रोलर, ट्रान्समिटर, एसी लगायतका उपकरण प्रयोग गरिएको उनले बताए।

विद्यालयको नियमित पठनपाठनको अतिरिक्त समय व्यवस्थापन गरेर ड्रोन तयार गरिएको हो। दोस्रो प्रयासमा ड्रोन तयार भएको सुवेदीले बताए। उनीहरूले यस अघि रोबोट पनि बनाएको थियो ।

प्रधानाध्यापक इन्द्रमान खत्रीले विद्यार्थीले अतिरिक्त क्रियाकलापका रूपमा प्रविधितर्फ आकर्षण भएको बताए। उनले प्रविधिको हिसाबमा विश्वले नै फड्को मारेका बेला आफ्ना विद्यालयका विद्यार्थीले पनि यान्त्रिक उपकरण बनाएर सफल परीक्षण गरेको बताए। उनले विद्यार्थीहरूलाई विद्यालयले पनि आवश्यक साथ, सल्लाह र हौसला प्रदान गरेको बताए।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष यामप्रसाद शर्माले विभिन्न शैक्षिक प्रदर्शनीमा जाँदा अन्य क्षेत्रका विद्यार्थीले गरेका विभिन्न आविस्कारका वस्तु देखेपछि आफ्नो विद्यालयका विद्यार्थीले पनि ड्रोन निर्माण गरेको बताए।

ड्रोन बनाएर उडाएका विद्यार्थीले अब सामान बोक्न मिल्ने ड्रोन बनाउने तयारी गरेका छन् । त्यसका लागि आवश्यक सामग्री जुटाउन थालेको बताएका छन् । ती विद्यार्थीले नै उच्च शिक्षामा इलेक्ट्रोनिक इन्जिनियर बन्ने योजनासमेत बनाएका छन्।