कीवर्डहरू -

समुद्रको ४ हजार मिटर गहिराइमा पुगेर खनिज संकलन गर्ने एआई रोबोटको सफल परीक्षण

समुद्रको ४ हजार मिटर गहिराइमा पुगेर खनिज संकलन गर्ने एआई रोबोटको सफल परीक्षण

काठमाडौं । समुद्रको सतहबाट हजारौँ मिटर तल पुगेर खनिजयुक्त पदार्थ संकलन गर्न सक्ने कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिमा आधारित स्वचालित रोबोटको सफल परीक्षण गरिएको छ । समुद्रको अत्यन्त गहिरो भागमा पुगेर आवश्यक सामग्री संकलन गरी पुनः सतहमा फर्कन सक्ने यो प्रविधिलाई समुद्री अनुसन्धान तथा खनिज संकलनको क्षेत्रमा नयाँ उपलब्धिका रूपमा हेरिएको छ ।

समाचार संस्था रोयटर्सका अनुसार समुद्री प्रविधिमा काम गर्दै आएको इम्पोसिबल मेटल्स कम्पनीले प्रशान्त महासागरमा सञ्चालन गरेको वैज्ञानिक अभियानका क्रममा उक्त रोबोटको परीक्षण गरेको हो । परीक्षणमा रोबोटले समुद्रको ४ हजार मिटरभन्दा बढी गहिराइमा पुगेर खनिजयुक्त ढुंगाका टुक्रा संकलन गर्न सफलता हासिल गरेको कम्पनीले जनाएको छ ।

पोलिमेटालिक नोड्युल्स भनिने ती ढुंगामा विभिन्न उपयोगी धातु पाइन्छन् । कम्पनीका अनुसार रोबोटले समुद्रको गहिराइबाट करिब ४५० ग्राम खनिजयुक्त सामाग्री संकलन गरेर फर्किएको थियो ।

यस प्रविधिको मुख्य विशेषता समुद्री सतहमा रहेका खनिज पहिचान गरी आवश्यक सामाग्री स्वचालित रूपमा संकलन गर्न सक्नु हो । कम्पनीले समुद्री जीव तथा वातावरणमा न्यूनतम असर पर्ने गरी खनिज संकलन गर्ने प्रविधि विकास गर्ने उद्देश्य राखेको जनाएको छ ।

पछिल्लो समय विद्युतीय उपकरण, ब्याट्री तथा आधुनिक प्रविधिको उत्पादनमा आवश्यक पर्ने विभिन्न धातुको माग बढ्दै गएको छ । यस्तो अवस्थामा समुद्रको गहिराइमा पाइने खनिजप्रति विभिन्न कम्पनीको चासो बढिरहेको छ । एआई र रोबोटिक्सको प्रयोगले कठिन तथा जोखिमपूर्ण समुद्री क्षेत्रमा अनुसन्धान र सामाग्री संकलनलाई सहज बनाउन सक्ने अपेक्षा गरिएको छ ।

तर, समुद्री सतहबाट खनिज उत्खनन गर्ने विषय वातावरणीय दृष्टिले निकै संवेदनशील मानिन्छ । गहिरो समुद्रमा रहेका जीवजन्तु, जैविक विविधता र पारिस्थितिक प्रणालीमा यस्तो गतिविधिले दीर्घकालीन असर पार्न सक्ने भएकाले व्यावसायिक उत्खननअघि वातावरणीय प्रभावको विस्तृत अध्ययन र सम्बन्धित निकायको अनुमति आवश्यक हुन्छ ।

रोबोटको परीक्षण सफल भए पनि यसले व्यावसायिक खनिज उत्खननको अनुमति पाएको भन्ने अर्थ भने लाग्दैन । यद्यपि, यस उपलब्धिले समुद्रको गहिराइमा अनुसन्धान गर्ने र खनिज स्रोत पहिचान तथा संकलन गर्ने प्रविधिको भविष्यबारे नयाँ सम्भावना र वातावरणीय बहसलाई थप अघि बढाएको छ ।