सर्वोच्च अदालतले प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतको एक्स अकाउन्ट नभएको स्पष्ट पारेको छ । एक्समा प्रधानन्यायाधीशको नाम प्रयोग गरी फेक अकाउन्ट बनाएर क्रिप्टोकरेन्सीको प्रचार भइरहेको समाचार प्रकाशित भएपछि सचिवालयले खण्डन गरेको हो ।
प्रधान न्यायाधीशको फोटो प्रयोग गरी 'Mr. Prakash Nepal @SupremeCourtNP' भन्ने Fake Account सिर्जना गरी उक्त ट्विटर अकाउन्टबाट हुँदै नभएको, कपोकल्पित र भ्रमात्मक विषयवस्तु ट्विट एवं शेयर गरी सर्वोच्च अदालतको गरीमा र मर्यादा घटाउने काम भएको सचिवालयले जनाएको छ ।
यसले प्रधान न्यायाधीशको व्यक्तित्वमा क्षयीकरण गराई न्यायपालिकाप्रति भ्रम सिर्जना गर्ने दुष्प्रयास गरेकोले सो ट्विटमा उल्लेख भएको झुठो व्यहोरा प्रति विश्वास नगर्न सबैमा अनुरोध गरिएको छ ।
यसप्रकारको गलत एवं भ्रमात्मक सामग्री तत्काल हटाउन तथा सो सामग्री ट्विट गर्ने व्यक्तिलाई शिघ्र कानूनी दायरामा ल्याउन अनुसन्धान गर्ने निकायलाई आवश्यक निर्देशन दिइसकिएको छ ।
प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतको फेक अकाउन्टलाई एक्सले सरकारी अकाउन्टको रूपमा भेरिफाइड गरेको छ ।